मातृ मृत्युसम्बन्धी सहि सूचना दिन स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको आग्रह

काठमाण्डौ/सरकारले राष्ट्रिय जनगणनामा आधारित मातृ मृत्यु अध्ययन थालेको छ ।

हिजोदेखि आउँदो मंसिर ९ गतेसम्म हुने जनगणनामा गणकले कुनै घर परिवारमा विगत १२ महिनामा १५ देखि ४९ वर्षका महिलाको मृत्यु भएको पत्ता लागेमा ‘मातृ मृत्यु सूचित फाराम’ भरी त्यसको जानकारी जनगणनामा खटिएका सुपरिवेक्षक तथा तालिम प्राप्त स्थानीय स्वास्थ्यकर्मीलाई उपलब्ध गराउने छन् ।

यो जानकारी स्वास्थ्यकर्मीले पालिकामार्फत मंसिर महिनाभित्र स्वास्थ्य मन्त्रालयलाई बुझाउनेछन् । यो अध्ययन राष्ट्रिय प्राथमिकतामा प्राप्त कार्यक्रम भएकाले जनगणनामा घर घरमा पुग्ने गणकहरुलाई मातृ मृत्युसम्बन्धी सत्य, तथ्य सूचना उपलब्ध गराइदिन मन्त्रालयले आग्रह गरेको छ ।

केही वर्षयता सरकारले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सेवालाई उच्च प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । प्रजनन उमेरका महिलाको मृत्युमध्ये झण्डै १२ प्रतिशतको मृत्युको कारण मातृ मृत्यु रहेको पाइन्छ ।

सन् २०१६ मा मातृ मृत्यु अनुपात २३९ रहेकोमा दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्ममा यसलाई ७० मा झार्ने सरकारको लक्ष्य छ ।