कानुन व्यवसायीले आज सर्वोच्चमा कुनै पनि मुद्धामा बहस नगर्ने

काठमाण्डौं/प्रधानन्यायाधिस चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायीले आज सर्वोच्च अदालतमा कुनै पनि मुद्धामा बहस नगर्ने निर्णय गरेका छन् ।

हिजो सर्वोच्च अदालतमा भएको धरपकडको विरोधमा आज कुनै पनि मुद्धामा पैरवी नगर्ने र बेञ्च वहिष्कार गर्ने निर्णय गरिएको नेपाल बार एसोसिएनका महासचिव लीलामणि पौडेलले  बताउनुभयो । यस्तै एसोसिएसनले प्रधानन्यायाधिस जबराले तोकेको इजलासमा नबस्न पनि न्यायाधिसहरुसँग अनुरोध गरेको छ ।
बारले आज बिहान साढे ९ बजे सबै कानुन व्यवसायीलाइ एसोसिएसनमा उपस्थित हुन पनि अपील गरेको छ । हिजो सर्वोच्च अदालत परिसरमा धर्ना बस्न गएका कानुन व्यवसायी र प्रहरीबीच धकेलाधकेल भएको थियो भने प्रहरीको लाठीचार्ज केही कानुन व्यवसायी सामान्य घाइते भएका थिए ।
सर्वोच्चको प्रांगणको एक छेउमै विरोध कार्यक्रम गर्न थालिएपछि प्रहरीले हटाउन खोज्दा झडपको स्थिति आएको थियो । आन्दोलनरत कानुन व्यवसायीले सर्वोच्चमै प्रधानन्यायाधीश जबराविरुद्ध आराबाजी गरेका छन् ।