कोहलपुरबाट सौराहा घुम्न आएका यात्रु सवार बस नारायणगढमा दुर्घटना

चितवन/कोहलपुरबाट सौराहा आउँदै गरेको बस नारायणगढको सडक छेउको घोलमा खसेको छ । मगर समाज देउसीभैलो अवलोकन भ्रमण गर्न सौराहा आउँदै गर्दा भे२ख २८३६ नम्बरको रिजर्भ बस आज बुधबार बिहान करिब साढे ८ बजे पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ लायन्सचोकमा रहेको घोलमा खसेको हो ।

बसका चालकसहित बसमा सवार ४६ जना यात्रु सामान्य घाइते भएको वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख प्रहरी निरीक्षक रघुसिंह विष्टले जानकारी दिए ।

‘यात्रु सामान्य घाइते छन् । चारपाँच जना यात्रु त आफूखुसी उपचार गर्न जानुभएछ । बसभित्रबाट प्रहरीले उद्दार गरेका ४० जनाको अवस्था पनि सामान्य छ’, उनले भने, ‘चालकसँग सोधपुछ गरेका छौँ । चालक पनि सामान्य घाइते छन् । उनलाई च्यापिएको अवस्थामा प्रहरीले उद्दार गरेको हो ।’