मोतीपुर घटनाका मृतक परिवारलाई सरकारले ५ लाख ५० हजार राहत उपलब्ध गराउने

बुटवल/मोतीपुर औद्योगिक करिडोर घटनाका मृतक परिवारलाई सरकारले राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बुटवलको मोतिपुर घटनाका मृतकका परिवारलाई ५ लाख ५० हजार राहत दिने निर्णय गरेको हो । पाँच लाख रुपैयाँ आर्थिक सहयोग र पचास हजार किरिया खर्च दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।
२४ असोजमा एक समूहले बुटवलमा निर्माणाधीन मोतिपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गर्न खोज्दा स्थानीय प्रशासनले हस्तक्षेप गरेको थियो ।
सुरक्षाकर्मीको गोली लागेर चार जनाको मृत्यु भएको थियो भने दुई दर्जन बढी घाइते भएका थिए । यसअघि प्रदेश सरकारले मोतिपुर घटनामा मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको थियो ।