४३ देशका साढे चार करोड मानिस खडेरीको जोखिममा

एजेन्सी/विश्वभर साढे चार करोडभन्दा बढी मानिस खडेरीको जोखिममा रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

४३ देशका साढे चार करोड मानिस खडेरीको जोखिममा रहेको राष्ट्रसंघअन्तर्गतको विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी)ले जनाएको हो । बढ्दो खडेरीका कारण कृषि उत्पादनमा आएको कमीले कतिपय मुलुकमा भोकमरीको अवस्था सिर्जना भएको छ । गत वर्षभन्दा यो वर्ष खडेरीबाट प्रभावित हुनेको संख्या ३० लाख बढेको छ ।

खडेरी र त्यसको सबैभन्दा बढी प्रभाव अफगानिस्तानमा रहेको विश्व खाद्य कार्यक्रमले जनाएको छ । ‘खडेरीपछिको भोकमरीले दशौँ लाख मानिस दुःखी छन् । द्वन्द्व, जलवायु परिवर्तन र कोभिड–१९ को चपेटका कारण विश्वको ठूलो जनसंख्या भोकमरीको चपेटामा परेको छ’, डब्ल्युडब्ल्युपीका निर्देशक डेभिड बिस्लेले भने ।

साढे चार करोडभन्दा बढी मानिस भोकमरीतर्फ उन्मुख भएको उनको भनाइ छ । भोकमरीका कारण अफगानिस्तानको अवस्था भयावह देखिएको उनले बताए । डब्ल्युएफपीले अफगानिस्तानका २३ लाख मानिसहरुलाई खाद्य सहयोग प्रदान गरेको छ ।

‘खाद्यन्न र इन्धनको मूल्य बढेको बढ्यै छ, कृषि उत्पादनमा प्रयोग हुने मलको मुल्य बृद्धि भएको छ । यसले अफगानिस्तान, यमन र सिरियाजस्ता देशमा ठूलो असर गरेको छ,’ उनले भने । विश्वव्यापी रुपमा देखिएको खडेरीका कारण विश्वले ७ अर्ब डलर मुल्य चुकाउनु पर्ने उनले बताए ।

खडेरीका कारण खाद्य असुरक्षा बढ्दा बाल विवाह र बालबालिकालाई विद्यालयबाट पढ्न छुटाउनेजस्ता विकृति देखिएको उनले बताए । पछिल्ला वर्ष इथोपिया, हेइटी, सोमालिया, एंगोला, केन्या र बुरुन्डीमा भोकमरी बढेको डब्ल्युएफपीले जनाएको छ ।