आज काग र कुकुर तिहार

काठमाण्डौं/आज तिहारको दोस्रो दिन काग र कुकुरको पूजा गरी मनाइँदै छ ।
कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितियासम्मको पाँचदिन यमराज आफ्ना सबै कारम छाडेर बहिनी यमुनाकहाँ अतिथिका रुपमा बस्ने भएकाले यो पाँच दिनलाई यमपञ्चक भन्ने गरिन्छ ।

यमराजको दूतको रुपमा मानिएको कागको पूजा गरेर आज काग तिहार मनाइँदैछ । कात्तिक कृष्ण त्रयोदशीका दिन कागपूजा गरिन्छ । आज बिहान ९ बजेर २२ मिनेटसम्म मात्र त्रयोदशी तिथि रहेकाले यस समयभित्र कागको पूजा गरिसक्नु पर्नेछ ।

कागलाई सन्देश वाहकको रुपमा हेरिने भएकाले शुभ सन्देशको अपेक्षा गर्दै कागको पूजा गरिन्छ । काग यमराजको अत्यन्त प्रिय भक्तसमेत हो ।आज घरमा पाकेका सबै परिकारहरू दुना, टपरी, पातमा राखेर कागलाई घरको कौसी वा आँगनमा का।।।का।।।।का।।।भन्दै बोलाएर खान दिइन्छ ।

धर्मशास्त्रअनुसार यमराजले राखेको मानिसको जन्म मृत्युको विवरण पृथ्वीसम्म ल्याउने र लैजाने काम कागले नै गर्ने मान्यता रहेको छ ।

त्यस्तै, आजै इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरूपमा बाटो छोडिदिने धार्मिक विश्वास छ । आज बिहान ७ः१४ बजेपछि चतुर्दशी तिथि लाग्ने भएकाले त्यसपछि कुकुरको पूजा गरी मीठा मीठा खानेकुरा खान दिनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता छ । वैवस्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रूपमा समेत स्थापित भएको छ । काग र कुकुरलाई यमदूतका रूपमा मानिन्छ ।