आज पनि न्यायाधीशहरू इजलासमा नबस्ने

काठमाण्डौ/आज पनि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मार्गप्रशस्त गर्नुपर्ने माग गर्दै आएका सर्वोच्चका न्यायाधीशहरू इजलासमा नबस्ने भएका छन् । जबराको राजीनामा माग्दै आएको नेपाल बार एसोसिएशनले पनि आन्दोलनका कार्यक्रम तय गर्दैछ । इजलास नबसेका न्यायाधीशहरूले नेपाल बारको निर्णय कुरेका छन् ।
बारले तय गर्ने आन्दोलनका कार्यक्रमअनुसार थप रणनीति बनाउने उनीहरूको योजना छ । नेपाल बार एसोसिएशनले आज बैठक बसेर जबराविरुद्ध थप कार्यक्रम घोषणा गर्ने तयारी गरेको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताउनुभयो । राजीनामा नदिन अड्डी कसिरहेका प्रधानन्यायाधीशको कसरी प्रतिवाद गर्ने भन्ने रणनीति बनाउन बैठक बस्न लागेको उहाँको भनाइ छ ।

मन्त्रिपरिषद्, संवैधानिक परिषद्लगायतमा भाग मागेको, सर्वोच्चबाट गरेका फैसला देखाएर ‘बार्गेनिङ’ गरेको तथा गोलाप्रथाबाट पेसी तोक्छु भनेर पछि हटेकोलगायत गतिविधिबाट प्रधानन्यायाधीशमा न्यायिक विचलन देखिएको भन्दै प्रधानन्यायाधीशको आलोचना भइरहेको छ ।