भीमबहादुर हत्याका दोषीलाई कारबाही गर्न गृहमन्त्रीको ध्यानाकर्षण
कार्तिक ५, काठमाडाैं — सत्तारुढ गठबन्धन सम्बद्ध दलित राजनीतिक भातृ संघसंगठनहरुले चितवनका भीमबहादुर विकको हत्यामा संलग्न दोषीहरुलाई कडा कारबाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै ध्यानाकर्षण गराएका छन् । उनीहरुले विकको परिवारलाई न्यायपूर्ण क्षतिपूर्ति, पालनपोषण र रोजगारीको सुनिश्चितता गर्न समेत माग गरेका छन् ।
नेपाल दलित संघका अध्यक्ष मीन विश्वकर्मा, दलित मुक्ति मोर्चाका संयोजक दलजीत श्रीपाइली, दलित मुक्ति संगठनका अध्यक्ष गणेश विश्वकर्मा, समाजवादी दलित मुक्ति संगठनका उपमहासचिव सन्तोष घतानी र जातीय समता समाजका महासचिव भक्त विश्वकर्माद्वारा संयुक्त हस्ताक्षरित ज्ञापन पत्र बुझाउँदै उनीहरुले विश्वकर्माको हत्याको मूल जरिया जातीय छुवाछुत र भेदभाव नै भएको भन्दै मुद्दा चलाउँदा जातीय छुवाछुत र भेदभाव ऐन, ०६८ बमोजिम चलाउनुपर्ने माग गरेका छन् ।
उनीहरुले सरकारले दोषीलाई कारबाही गर्ने सुनिश्चित नभएसम्म दबाबमूलक कार्यक्रम गर्ने घोषणा समेत ज्ञापन पत्रमा उल्लेख गरेका छन् । भरतपुर महानगरपालिका–४ का ५८ वर्षीय विकको गत २८ असोजमा मन्दिरमा ‘दलितहरुले पनि पूजा गर्न पाउनुपर्छ’ भनेर आवाज उठाउँदा भएको कुटपिटबाट मृत्यु भएको थियो । कुटपिटबाट संलग्न स्थानीय सीताराम बस्नेत र दिलिप श्रेष्ठलाई प्रहरीले पक्राउ गरिसकेको छ ।