बाढी,पहिरो र डुबानका कारण चार दिनमा ८२ जनाको मृत्यु, २६ जना अझै बेपत्ता
काठमाण्डौं/देशभर चारदिनको अवधीमा बाढी, पहिरो र डुबानका कारण ८२ जनाको मृत्य भएको गृह मन्त्रालयले पुष्टि गरेको छ ।
सबैभन्दा धेरै पाँचथरमा २७ जनाको ज्यान गएको छ । यस्तै, इलाममा १३, डोटीमा १२, धनकुटामा सात, हुम्लामा ६, सुनसरीमा ५, बैतडीमा चार, प्युठान, बझाङ र उदयपुरमा दुई/दुई जनाको ज्यान गएको छ । सोलुखुम्बु, मोरङ, डडेल्धुरा र कालीकोटमा एकरएक जनाको ज्यान गएको छ ।
बाढी पहिरोमा अझै २६ जना हराइरहेकाले मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने गृह मन्त्रालय अन्तर्गतको विपद् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेले बताउनुभयो । उहाँका अनुसार सबैभन्दा धेरै बझाङमा २१ जना बेपत्ता छन् । उनीहरुको खोजी भइरहेको छ ।
यस्तै, बाढी पहिरोबाट ३० वटा घर पूर्ण रुपमा भत्किएका छन् । सरकारी संरचनामा भएका क्षतिबारे भने तथ्याङ्क सङ्कलनको काम भइरहेको छ । बाढी, पहिरो र डुबानबाट १९ जिल्ला सबैभन्दा धेरै प्रभावित भएका छन् ।
यस्तै, बाढी पहिरोका कारण ठाउँ–ठाउँमा पर्यटकहरु अलपत्र परेका छन् ।
उनीहरुको नेपाली सेनाले उद्धार गरिरहेको छ । उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर तयारी अवस्थामा राखिएको छ। उहाँले कुनै समस्या परे गृह मन्त्रालयको ९८५११४०००५ नम्बरमा फोन गर्न पनि आग्रह गर्नु भएको छ।