बाढी तथा पहिरोमा परी घर भत्केकालाई तत्काल ५० हजार, मृत्यु हुनेका परिवारलाई २ देखि ४ लाखसम्म
काठमाण्डौं/अविरल वर्षाका कारण गएको बाढी तथा पहिरोमा परी घर भत्केकाका परिवारलाई सरकारले तत्काल प्रतिधुरी ५० हजार दिने निर्णय गरेको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बुधबार बसेको बैठकले सो निर्णय गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिनुभयो।
यस्तै सरकारले बाढी पहिरोका कारण मृत्यु भएकाका परिवारलाई २ देखि ४ लाखसम्म आर्थिक सहयोग दिने निर्णय गरेको छ।
एकै घरमा एक जनाको मृत्यु भएको भए २ लाख, २ जनाको मृत्यु भएको भए ३ लाख र ४ जनाको मृत्यु भएको भए ४ लाख दिने निर्णय भएको हो ।
प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलका अनुसार अहिलेसम्म विभिन्न जिल्लामा २० घर भत्केका तथ्यांक प्राप्त भएको छ । प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार देशभर बाढी पहिरोबाट ५० जनाको मृत्यु भएको छ भने ३९ जना बेपत्ता छन् ।
यस्तै उद्धार र राहतका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्ने निर्णय भएको पनि पोखरेलले बताउनुभयो । यस्तै अन्य कृषि बालीलगायतका क्षतिका सन्दर्भमा आवश्यक अध्ययन गरेर त्यसका आधारमा क्षतिपूर्ति दिने निर्णय भएको छ । त्यसका लागि कृषि मन्त्रालयको संयोजकत्वमा देशभर भएका क्षतिको लगत संकलन गरिनेछ ।
यस्तै प्रधानमन्त्री पनि बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकनमा जाने तय भएको पोखरेलले बताउनुभयो ।