आज विश्व रेबिजविरुद्धको दिवस
काठमाण्डौ/विश्व रेबिजविरुद्धको दिवस आज नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।
‘रेबिज:तथ्य बुझौँ,त्रसित नबनौँ भन्ने नाराका साथ यस वर्षको दिवस मनाउन लागिएको हो । नेपालले सन् २०३० सम्ममा रेबिजका कारण हुने मृत्युलाई शून्यमा झार्ने प्रतिबद्धता जनाएको छ। रेबिज एउटा भाइरस हो, यसलाई न्यूरोट्रोपीक भाइरस भनिन्छ ।
जङ्गली जनावरको सम्पर्कमा पुगेका कुकुरमा रेबिज लाग्ने र सङ्क्रमित कुकुरले मानिसलाई टोकेपछि यो भाइरस सर्ने गर्छ । पछिल्लो समय कुकुरले टोकेर खोप लगाउन आउनेको सङ्ख्या बढ्दै गएको टेकु अस्पतालका निर्देशक डाक्टर अनुप बाँस्तोलाले बताउनुभयो ।
कुकुरलगायत पशुपक्षीको टोकाइबाट टेकु अस्पतालमा दैनिक १५० जनासम्म मानिस खोप तथा उपचारका लागि जाने पुग्ने गरेका छन् । रेबिज विरुद्धको खोप सहज उपलब्ध भए पनि ज्यान गुमाउनेको सङ्ख्या घट्न सकेको छैन ।
डाक्टर बाँस्तोलका अनुसार महिनामा एकदेखि तीन जनासम्म व्यक्तिको रेबिजका कारण ज्यान जाने गरेको छ । घरमै पालेको कुकुरले टोकेको भनेर हेलचेक्य्राइँ गर्ने, बेलैमा खोप नलगाउनेलगायतका कारण सङ्क्रमितको ज्यान जाने गरेको उहाँको भनाइ छ ।
सुई लगाएर रेबिजलाई निको पार्न सकिन्छ तर ढिला भएमा प्राणघातक बन्न सक्छ । मुख्य सहर बजारमा छाडा छाडिने कुकुरहरूका कारण रेबिज सङ्क्रमणको जोखिम बढाएको छ । घरमा पालेको वा कुकुरको छाउराले टोकेको भनेर लापर्बाही नगर्न डाक्टर बाँस्तोलाको सुझाव छ ।
जटिल अवस्थामा ‘रेबिज इम्युनोग्लोबुलिन’ सुई लगाउनु पर्छ । एन्टी रेबिज खोप लगाएको सात दिन पार गरिसकेको र पहिला कुनै समयमा एन्टी रेबिज खोप लगाइसकेको अवस्थामा भने ‘रेबिज इम्युनोग्लोबुलिन सुई लगाउन नहुने सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले बताउनुभयो ।