कांग्रेस महाधिवेशन:आज गाउँ तथा नगरअधिवेशन हुँदै, सहमतिको संभावना कम !

चितवनका सात पालिकामा दुई हजार ९१३ मतदाता

चितवन/असोज ९/आज शनिबार नेपाली कांग्रेसले गाउँ तथा नगर अधिवेशन गर्दैछ। पार्टीको १४औँ महाधिवेशन अन्तगर्त दोस्रो आज चरणको अधिवेशन हुन लागेको हो।

गत भदौ १८ गतेबाट सुरू भएको महाधिवेशनको क्रममा वडा तहको नेतृत्वको चुनाव भैसकेको छ। आजदेखि सुरू हुने गाउँ तथा नगरअधिवेशनले पालिकाहरुमा नयाँ नेतृत्व चयन गर्नेछ। सातवटा स्थानीय तह रहेको चितवनमा पनि आजै सबै पालिकामा निर्वाचन सुरू हुने भएको छ।

गत भदौ २१ देखि २५ गतेसम्म भएको वडा अधिवेशनबाट निर्वाचिन वडा सभापतिसहित क्षेत्रीय प्रतिनिधिले पालिकामा नेतृत्व चयन गर्न पाउने छन्। पालिका अधिवेशनमा नेतृत्व छान्नको लागि चितवनको सातवटा पालिकामा कुल दुई हजार ९१३ जना मतदाता रहेका छन्।

भरतपुर महानगरमा एक हजार ४७०, रत्ननगर नगरपालिकामा ४२३, खैरहनीमा २९४, राप्तीमा २२५, कालिकामा २२०, माडीमा १४८ र इच्छाकामना गाउँपालिकामा १३३ जना क्षेत्रीय प्रतिनिधि छन् । जसमा ९८ जना वडा सभापतिहरू छन्। क्षेत्र नं. १ मा ९४२, २ मा ९९१ र ३ मा ९८० जना मतदाता छन्। पालिकामा हुने कार्यसमितिमा भने पालिका अनुसार फरक फरक हुन आउँछ।
भरतपुर महानगरपालिकामा सबैभन्दा धेरै वडा भएकोले भरतपुरमा सबैभन्दा बढी क्षेत्रीय प्रतिनिधि चुनिएका छन्। त्यसैले नगर समितिमा सबैभन्दा बढी कार्यसमिति पनि भरतपुरमै गठन हुने जिल्ला निर्वाचन अधिकृत कमलमोहन पोख्रेलले जानकारी दिए। पदाधिकारी भने सबै वडामा समान हुने व्यवस्था छ।

पार्टीको विधानअनुसार सात जनाको पदाधिकारी सबै वडामा हुनेछन्। सदस्यहरू मात्रै हेर्ने हो भने भरतपुरमा १४५, रत्ननगरमा ८०, राप्ती र खैरहनीमा समान ६५/६५, कालिकामा ५५, माडीमा ४५ र इच्छाकामनामा ३५ जना सदस्य निर्वाचित हुनेछन्।

त्यसको लागि उम्मेदवारी घोषणा गरिसकेका नेताहरू मतदाताको घरदैलोमा चहारिरहेका छन्। सामाजिक सञ्जालको पनि भरपुर प्रयोग गर्दै भोट माग्दै हिँडेका छन्।

जिल्लाको सातवटै पालिकामा नेताहरूबीचको प्रतिष्पर्धा कडा हुने कांग्रेस चितवनले जनाएको छ। वडा तहमा जस्तै सहमतिमा सहजता नभएको कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले बताए।
‘सबै पालिकामा दुई/दुई प्यानल आउने संभावना छ,’ उनले भने, भरतपुरमा अझ बढी छ।’ आज दिनभरीमा पनि सहमतिको प्रयास जारी रहने उनले बताए। ‘सहमतिमा आउन नसके लोकतान्त्रिक विधिमार्फत चुनाव हुन्छ,’ उनले भने, ‘हाम्रो चाहना के हो भने, वडामा जस्तै सौहार्दपूर्ण तरिकाले नेतृत्व चुनिन पाइयोस् भन्ने छ।’