विद्युतीय पासोमा परेर एकै परिवारका तीन जनाको मृत्यु
बर्दिया/विद्युतीय करेन्टको पासोमा परेर बर्दियामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
बँदेल मार्नका लागि राखेको करेन्टको पासोमा परेर ठाकुरबाबा-३ का ३२ वर्षका बालकृष्ण थारु, उहाँकी श्रीमती २९ वर्षकी सुनिता थारु र बालकृष्णकी भाउजु ४३ वर्षकी बेलमती थारुको मृत्यु भएको बर्दिया प्रहरीले जनाएको छ ।
गएराति १० बजेतिर एक जनालाई करेन्ट लागेको र बचाउने क्रममा अरु दुई जनालाई पनि करेन्ट लागेर मृत्यु भएको हो । पासो थाप्ने ८३ वर्षका राजबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।
धान खेतमा बँदेलका लागि थापेको विद्युतीय पासोमा करेन्ट लागेर एक जनाको मृत्यु भएको थाहा पाएलगत्तै खेतमा विद्युत् प्रवाह गरेका वृद्ध आफैँले घरपरिवारमा जानकारी गराएका प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भुरिगाउँका प्रहरी निरीक्षक कविराज रोकायाले बताउनुभयो ।