देशभर ४३ ठाउँमा सुपथ मूल्य पसल, भोलिदेखि सञ्चालन हुने

काठमाण्डौ/देशभर ४३ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन हुने भएको छ ।
सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ३९ जिल्लाका ४३ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको हो।
सरकारले चाडपर्वको अवसरमा हरेक वर्ष दशैँ, तिहार र छठ पर्वका बेला सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ ।

कम्पनीले यसपालि चामल, दाल, चिउरा, पिठो र तेलमा पाँच तथा भटमासको तेल, मासु र कर्णाली सिमीमा १० रुपैयाँ छुट दिने कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले बताउनु भयो ।
कम्पनीले काठमाण्डौ उपत्यकामा खाद्यको थापाथली, नक्खु, लगनखेल र सूर्यविनायक बिक्री केन्द्रबाट सुपथ मूल्यमा खाद्य सामग्री बिक्रीवितरण हुने जनाएको छ ।

यस्तै, उपत्यकाबाहिर बनेपा, विराटनगर, बिर्तामोड, हेटौँडा, नारायणगढ, भैरहवा, बुटवल, नेपालगञ्ज, पोखरा, दाङ, सुर्खेत, धनगढी, महेन्द्रनगर, डडेलधुरालगायत ठाउँबाट खाद्य वस्तु बिक्री वितरण हुनेछ ।
पसल भोलिदेखि कात्तिक २४ गतेसम्म सञ्चालन हुने छ ।