भोलि हुने भनिएको संवैधानिक नियुक्तिसम्बन्धी सुनुवाई रोक्न सर्वोच्चको आदेश
काठमाण्डौं/ सर्वोच्च अदालतले संवैधानिक परिषद्ले गरेका नियुक्तिसम्बन्धमा भोलिका लागि तय भएको सनुवाइ रोक्न आदेश दिएको छ ।
न्यायाधीश हरिप्रसाद फुँयालको आजको एकल इजालसले संवैधानिक इजलासमा प्रधानन्यायाधीश रहने कि नरहने भन्ने विषय महत्वपूर्ण भएकाले तत्काल संवैधानिक नियुक्तिसम्बन्धी सुनुवाइ स्थगित गर्न आदेश दिएको हो ।
संविधानबमोजिम प्रधानन्यायाधीशको नेतृत्वमा बाहेक अरुको अध्यक्षतामा संवैधानिक इजलास गठन हुन नसक्ने भन्दै परेको रिटमाथि आज फुँयालको इजलासमा सुनुवाइ भएको थियो । १५ दिनभित्र प्रधानन्यायाधीशको सहभागिता सम्बन्धमा लिखित जवाफ पेस गर्नसमेत सर्वोच्च न्याय परिषद् र कानुन व्यवसायी न्याय परिषद्लाई आदेश दिएको छ । लिखित जवाफ आएको तीन दिनभित्र यस मुद्दाको पेसी तोक्न पनि इजलासले आदेश दिएको छ ।
अधिवक्ता गणेश रेग्मीले दायर गरेको रिटमा प्रधानन्यायाधीशले संवैधानिक इजलासको नेतृत्व नगर्नु संविधानविपरीत हुने भएकाले प्रधानन्यायाधीशको नेतृत्वमा इजलास गठन गर्न परमादेश माग गरिएको थियो ।