त्रिमुल नेपाल पार्टीका आधारभूत अवधारणाहरु!!

देशको वर्तमान संकटको जग निकै गहिरो, लामो पृष्ठभूमी सहितको र बहु–आयामिक छ। यो मूलतः विजातीय एवं विकृत चिन्तन, विचार, अवधारणा र मूल्यहरुसंग जोडिएको छ। कुनै विषयवस्तुलाई हेर्ने तरिका, सोंच बनाउने तरिका, जीवन प्रणालीहरुलाई मार्ग दर्शन गर्ने विचार, कुनै चिजप्रति बनाईने अवधारणा र हामीले जीवनमा अभ्यास गर्दै आएका मूल्यहरुमा नेपालीपन छैन। नेपालीपन नहुनुका कारणले हाम्रो बिचार पाठशाला (स्कूलिङ्ग) पराईवादी बनेर गएको छ। फलतः हाम्रा कृयाकलाप र ब्यबहारहरु कुनै न कुनै रुपमा देश र समाजको हितसंग बाझिने दिशामा अघि बढिरहेका छन्। आधारभूत रुपमैं हामी जहाँ फसेका छौ, त्यहाँबाट नउम्किकन देशको संकट समाधान गर्न संभव छैन। देश, समाज र घटनाहरुलाई हेर्ने र बुझ्ने संदर्भमा कुरा उठ्दा सर्वप्रथम हामीमा मौलिक दृष्टिकोण, विचार र अवधारणाहरुको विकास हुन जरुरी छ भन्ने मान्यतामा त्रिमूल नेपाल स्पष्ट छ।
माथि उल्लेखित समस्याहरुबाट उत्पन्न परिणामका रुपमा हाम्रा मौलिक बोलीभाषा, खानपान, रहनसहन, चालचलन, भेषभूषा, रितिथिती, शिष्टाचार, नैतिकता, संस्कार/संस्कृतिहरु मासिंदै गएका छन्। आयातित चिन्तन र प्रवृतिहरुले हाम्रा वैयक्तिक, पारिवारीक, सामाजिक एवं राष्ट्रिय संबन्धहरुलाई विच्छिन्न र विकारयुक्त बनाउँदै लगेका छन्। कर्तव्य, संवेदना, सद्भाव, बन्धुत्व, शिष्टाचार जस्ता कुरा मर्दै गएका छन्। यसको ठाउँ व्यक्तिवाद, भोगवाद, भक्तिवाद, बजारवाद, उपभोक्तवाद, अधिकारवाद जस्ता विकृतिहरुले लिंदै गएका छन्। हामी देशमा विकास भएका सबै चिजहरुप्रति घृणा गर्ने र विदेशीहरुले हस्तान्तरण गरेका हरेक कुरामा गर्व गर्ने पराई मानिस बन्दै गएका छौं। यसले हाम्रो पहिचान र अस्तित्व मास्दै लगेको छ, हामीमा गुलाम उपभोक्तावादी मानसिकताको विकास भैरहेको छ, आफैप्रतिको विश्वास गुमेको छ। विदेश र विदेशी चिज नै सबैथोक हो भन्ने मनोविज्ञान बन्दै गएको छ।
यथास्थितिवादसंगको अहिलेको मूख्य लडाईं दृष्टिकोण, विचार, मूल्य आचरणको लडाईं हो। यो नै राज्य प्रणालीलाई निर्देशित गर्ने मूख्य आधार हो। विदेशी रणनीतिमा आधारित कथित परिवर्तनहरुको असरका कारणले हामीले आफूसंग भएका मूल्यहरु पनि गुमाईसकेका छौं भने नयाँ सोंच र मूल्यहरुको विकास पनि हुन दिईएको छैन। यतिबेला नेपालीहरुको मानसिकता एकप्रकारको शून्यताबाट गुज्रिरहेको छ। राज्य प्रणाली पूर्ण स्वेच्छाचारिता र अराजकताको प्रकृयाबाट अगाडि बढिरहेको छ। कथित अग्रगमनका नाममा लादिएका यावत् कुराहरु असफल भएका छन्। अतः नेपाली समाजलाई राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, नैतिक, मनोवैज्ञानिक लगायत सबै क्षेत्रहरुमा पुनर्संरचना गर्न तथा देशलाई नयाँ दृष्टि र लक्षमा दृढतापूर्वक अगाडि हाँक्न निकै आवश्यक भैसकेको छ। यसका लागि त्रिमूल नेपाल निम्न सारगर्भित विषयहरुका आधारमा अघि बढ्न प्रतिबद्ध रहेको छ।
(क) नयाँ दृष्टिकोण, नयाँ वैचारिक पाठशाला (स्कूलिङ्ग)
दृष्टिकोण भनेको घटना, विषय वा वस्तुलाई कुनै निश्चित मूल्यका आधारमा हेर्ने र बुझ्ने तरिका हो। यसले विभिन्न चिजहरुप्रति विचारहरुको एउटा अविच्छिन्न श्रृंखला विकास गर्दछ। यीनै अंश अंशका रुपमा विकास हुने यीनै विचारहरुको श्रृंखलाको समग्रता नै विचारधारा हो। राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, नैतिक क्षेत्रमा हामीले जुन प्रकारका दृष्टिकोणहरु अपनाएका छौं, ती समग्र, पूर्णतामा आधारित नभई आयातित, यान्त्रिक, अपूर्ण र अधुरा छन्। यो समस्या हटाउन मौलिक चिन्तन पद्धति, दृष्टिकोण र अध्ययनका थप विधिहरु विकास गर्नुपर्ने खाँचो छ। यस्तो पद्धति र विधिका आधारमा हामीले हाम्रो मौलिक वैचारिक पाठशाला (स्कूल अफ थट) को विकास गरेर त्यसबाट प्रशिक्षित हुन जरुरी छ।
(ख) माटोमा आधारित राष्ट्रिय बिचार पाठशाला (स्कूलिङ्ग)
माटोको सारभूत अर्थ हुन्छ– स्वदेश। आफू जन्मेहुर्केको माटोलाई जीवनको आधार र देशलाई जीवनको छहारी मान्ने बिचार पाठशाला (स्कूलिङ्ग) नै माटोमा टेकेको राष्ट्रिय बिचार पाठशाला (स्कूलिङ्ग) हो। नेपालको जलवायू, भू–बनोट, संस्कृतिहरु, सामाजिक सम्बन्ध,, जीवन पद्धति, भू–अवस्थितिका आधारमा राज्य प्रणाली र सामाजिक, पारिवारिक एवं व्यक्तिगत मूल्य–मान्यताहरुको विकास गर्नु पर्दछ भन्ने यसको ठोस अर्थ हो। यसका लागि राष्ट्रलाई निर्देशक विचारका रुपमा र राष्ट्रियतालाई एकिकृत साझा मनोविज्ञानका रुपमा आत्मसात गरेर बाहिरबाट आयात गरिएका दृष्टिकोण, विचार, अवधारणा, प्रणाली एवं मूल्य–मान्यताहरुलाई परित्याग गर्नु पर्दछ।
(ग) राष्ट्रिय विचारधारा र राष्ट्रिय मनोविज्ञान
देशको अहिलेको संकट राष्ट्रिय संकट हो। राष्ट्र विघटन गरेर नेपालको भू–राजनीतिलाई ईण्डो–पश्चिमा साम्राज्यवादी रणनीति अनुकूल बनाउनका लागि रचिएको षडयन्त्र संकटको प्रमूख कारण हो। देशभित्रका विदेशी दलालहरु नै नेपाल र नेपाली जनताका मूख्य आन्तरिक शत्रुहरु हुन्। यसको सामना गर्न राष्ट्रिय प्रतिरोध संघर्षको खाँचो छ। राष्ट्रिय प्रतिरोध संघर्षका लागि सबै नेपाली एउटै थलोमा संगठित हुन जरुरी हुन्छ। अहिले नेपालीहरुलाई यो वा त्यो निहुँमा विभाजित गर्ने सबै छद्म विचारहरु अस्वीकार गरेर सबै असल नागरिकहरु अट्न सक्ने छाताका रुपमा राष्ट्रिय विचारधारा र राष्ट्रिय मनोविज्ञानको आवश्यकता छ।
(घ) सोच, विचार र मूल्यहरुमा नेपालीपन

देशका वर्तमान राजनीतिक, आर्थिक, सामाजिक/सांस्कृतिक, नैतिक प्रणालीहरु र जीवन पद्धतिमा स्थापित गरिएका सोंच, विचार र मूल्यहरु पश्चिमी जगतबाट आयात गरिएका छन्। यसले नेपाली परिवेश र आवश्यकताको प्रतिनिधित्व गर्दैन। सोंच, विचार, मूल्य, आचरण एकथरी हुनु र देशको मौलिक परिवेश अर्को प्रकारको हुनुबाट विकास भएको अन्तर्विरोधका कारणले मानिसहरुमा उपभोक्तावाद, व्यक्तिवाद, अनुत्तरदायी भावना, तात्कालिक स्वार्थ, अनैतिकता, हिंसात्मक मनोविज्ञान जस्ता विकृतिहरु भयावह बन्दै गएका छन्। यो समस्यालाई निर्मूल पार्न सोंच, विचार, मूल्य र आचरणमा मौलिकताको लडाई संगठित गर्न आवश्यक छ।
देशको वर्तमान संकट राष्ट्रिय संकट हो। नेपालको विघटन गरेर यहाँको भू–राजनीतिलाई ईण्डो–पश्चिमा शक्तिहरुको राष्ट्रिय स्वार्थ अनुरुपको रणनीति कार्यान्वयन गर्नका लागि रचिएको षडयन्त्र नै संकटको प्रमूख कारण हो। यसको सामना गर्न राष्ट्रिय प्रतिरोध संघर्षको खाँचो छ। राष्ट्रिय प्रतिरोध संघर्ष उठाउनका लागि आम नागरिकहरु एउटै थलोमा उभिनु पर्दछ। यतिबेला नेपालीहरुलाई विभाजित गर्ने सबै रुपरङ्गका विचारहरु अस्वीकार गरेर असल नागरिकका रुपमा सबै नेपालीहरु अट्न सक्ने साझा छाताका रुपमा राष्ट्रिय विचारधारा र यसमा आधारित राष्ट्रिय मनोविज्ञानको आवश्यकता छ। यसका लागि हाम्रो मौलिक वैचारिक पाठशालाको विकास गर्न जरुरी छ।
(ङ) अन्तर्निर्भर एवं सर्वाङ्गिण दृष्टिकोण
संकट भनेको राज्य प्रणाली र समाजको समग्र क्षेत्रमा जगैबाट उत्पन्न भएको अव्यवस्था हो। एकाङ्गी दृष्टिकोण अवलम्बन गरेर यसको समाधान गर्न सकिंदैन। देशको संकट समाधानको प्रश्नलाई २ वटा तरिकाबाट हेर्नु पर्दछ। पहिलो हो– आर्थिक, राजनीतिक, सामाजिक सबै क्षेत्रका समस्याहरु एक अर्कासंग अन्तर्सम्बन्धित छन् र एउटा क्षेत्रमा उत्पन्न हुने समस्याले अर्को क्षेत्रमा स्वतः असर गर्दछ भन्ने सोंचबाट समस्यालाई बुझ्नु। दोश्रो हो– सर्वाङ्गिण दृष्टिकोणबाट सबै समस्याहरुको एकमुष्ट समाधान खोज्नु। यी दुबै देष्टिकोणलाई ठिक ढंगले समात्न सकिएन भने हामी गोलचक्करको निरन्तरतामा फसिरहन्छौं।
(च) युगान्तकारी परिवर्तनको आवश्यकता
देशको राज्य प्रणाली पूर्ण रुपमा स्वाधीन छैन। बेलायतीहरुले जबर्जस्ति थोपरेको सुगौली सन्धिपछि यो नव–औपनिवेशिक गुलामीको अवस्थाबाट गुज्रिरहेको छ। देश सार्वभौम छ तर राज्य प्रणाली ईण्डो–पश्चिमा शक्तिहरुको नियन्त्रणमा रहेको छ। यसलाई स्वाधीन बन्न नदिन बाह्य शक्तिहरुले सरकारी र गैरसरकारी क्षेत्रबाट द्वि–पक्षीय वा बहु–पक्षीय रुपमा दर्जनौं असमान तथा अपमानजनक संधि–सम्झौताहरु थोपरेका छन्। यीनै सन्धि–सम्झौताहरुको आडमा तिनीहरुले समानान्तर सरकार चलाउँदै आएका छन्। यो जालोलाई तोडेर सुगौली सन्धिपछिको नव–औपनिवेशिक युगको अन्त्य गरेर मात्र देशको राज्य प्रणालीलाई स्वाधीन बनाउन सकिन्छ। तसर्थ, सुगौली–सन्धिको युगको अन्त्यसंग जोडिएको परिवर्तन देशको अहिलेको मूलभूत आवश्यकता हो।
(छ)स्वदेशी श्रोत–साधन र माटोको संस्कृतिमा आधारित विकासको ढाँचा
आयातमा निर्भर देशको विकास कहिल्यै हुँदैन। समृद्धिको आधार भनेको स्वदेशी श्रोत–साधनहरुको परिचालन र व्यवस्थापन हो। नेपालमा विकासका लागि कृषि, वनजङ्गल, जडिबुटी, पशुपंक्षि, पानी, पर्यटन, सांस्कृतिक सम्पदा र मानवीय जनशक्तिको प्रचुरता छ। हामीलाई पर्याप्त हुने खानीजन्य पदार्थहरु पनि स्वदेशमैं उपलब्ध छन्। यीनै चिजहरुलाई आधार मानेर बनाईने विकासको योजनाले मात्र वैदेशिक ब्यापार घाटा कम गरेर नेपालीहरुलाई आत्मनिर्भर बनाउन सक्दछ। हामीसंग जुन श्रोत, कच्चा पदार्थहरु वा बनिबनाउ चिजहरु छैनन्, त्यसको मात्र आयात गर्ने नीति अबलम्बन गर्नु पर्दछ।
विकासको कुरा गर्दा हामीले पर्यावरणको सुरक्षामा ध्यान दिन जरुरी छ। अहिले नेपालमा प्रचलित आर्थिक विकासको नमुना भनेको पूँजी सञ्चयको सिद्धान्तमा आधारित नमुना हो। अधिकतम पूँजी सञ्चयको नाममा यसले प्राकृतिक श्रोत–साधनहरुको अधिकतम् रुपमा दोहन गरेर माटो र वातावरणीय सन्तुलनको विनाश गरिरहेको छ। यो प्रकृति र मानिसहरु मारेर धन जोड्ने अपराधिक सोंचमा आधारित सिद्धान्त हो। यसले उत्पन्न गर्ने अकल्पनीय विनाशलाई मध्यनजर राखेर हामीहरु यस्तो गलत बाटोबाट अलग हुनु पर्दछ। अक्षय विकास अर्थात् माटोको पुनः उत्पादन क्षमता, श्रोतहरुको रक्षा र वातावरणीय सन्तुलनमा नकारात्मक ह्रास नआउने नीतिमा आधारित विकासको योजनाले मात्र सुख, समृद्धि र शान्ति ल्याउन सक्दछ।
(ज) इतिहास र वर्तमानका बीचमा अविच्छिन्न सम्बन्ध
ईण्डो–पश्चिमा साम्राज्यवादी शक्तिहरुले वर्तमान नेपाललाई यसको इतिहाससंग अलग गरेर छिन्नभिन्न पार्न खोजेका छन्। यसका लागि तिनीहरुले आफ्ना दलालहरु मार्फत् संघीयता, धर्मनिरपेक्षता, बहु–राष्ट्रिय राज्य जस्ता विषाक्त अवधारणाहरुलाई स्थापित गर्न खोजिरहेका छन्। यसका लागि तिनीहरुको सबैभन्दा ठूलो जोड नेपाल राष्ट्रको निर्माण, यसको सार्वभौमिकता र स्वतन्त्रताको रक्षाका लागि अमूल्य योगदान दिएका ऐतिहासिक पात्रहरुको बद्नाम गर्नुमा रहेको छ। नेपालको पुनः एकिकरणलाई खण्डित गर्नका लागि नै विदेशी दलालहरुले बहु–राष्ट्रिय राज्यको कुरा उठाएका हुन्।
नेपालका नायकहरुलाई खलनायकका रुपमा परिणत गर्ने र विदेशी दलालहरुलाई नायकका रुपमा उठाउने षडयन्त्रमा तिनीहरुको पूरै शक्ति लागेको छ। पृथ्वीनारायण शाह, नेपाल पुनः एकिकरणमा जीवन बलिदान गर्ने विभूतीहरु, राजा महेन्द्र, योगी नरहरीनाथ, फाल्गुनानन्द, भानुभक्त आचार्य लगायतका ऐतिहासिक पात्रहरुमाथिको आक्रमणको कारण यही हो। यो विदेशी षडयन्त्रको कठोर रुपमा प्रतिकार गरेर देश निर्माणको अभियान, यसका लागि जीवन बलिदान गर्ने नायकहरु र उनीहरुको योगदानलाई स्थापित गरी उनीहरुको कडीसंग जोडिएर अगाडि बढ्न प्रत्येक नेपालीले हरपल ध्यान दिन आवश्यक छ।
(झ) विशिष्ट समाज व्यवस्था, विशिष्ट राज्य व्यवस्था
श्रृष्टिमा जति पनि जीव र जड पदार्थहरु छन्, ती सबै आफैमा अभूतपूर्व छन्। यसैले प्रकृति प्रदत्त प्रत्येक चिज विशिष्ट पहिचान सहितका छन्। स्थानीय मौलिकतामा विकास भएका सबै संस्कृति/संस्कारहरु विशिष्ट छन्। आ-आफ्नो मौलिकतामा आधारित सामाजिक संरचनाभित्र विकास भएका राष्ट्रहरुको पनि स्वाभाविक रुपमा विशिष्ट पहिचान हुन्छ। त्यसैले, एउटा विशिष्ट परिवेशमा विकास भएको राज्य व्यवस्था अर्को परिवेशमा विकास भएको राज्य व्यवस्थासंग मौलिक रुपमैं मिल्दैन। राज्य व्यवस्था आयात गरेर चल्ने कुरा होईन। सबै समाज व्यवस्थाको बनावट मौलिक हुने भएकोले राज्य व्यवस्था पनि मौलिक हुनु पर्दछ। यस मानेमा विश्व व्यवस्थाको कुरा कमजोरहरुलाई लुट्ने र मास्ने षडयन्त्रमा आधारित एउटा झूठ मात्र हो।

(ञ) नेपाली राष्ट्रियताको परिस्थितिजन्य तत्व
नेपालको राष्ट्रियतासंग एउटा बाह्य परिस्थितिजन्य तत्व अभिन्न भएर जोडिएको छ, जसका बारेमा निकै कम मानिसहरुको ध्यान गएको छ। त्यो तत्व भनेको तिब्बतलाई चीनको अभिन्न अङ्गका रुपमा लिने मान्यता हो। नेपाल ३ तिर ईण्डियाबाट घेरिएको भू–परिवेष्ठित अवस्थामा छ। यसै प्रतिकूलताको फाईदा उठाउन त्यसले नेपालमाथि बारम्बार नाकाबन्दी लगाउँदै आएको र नेपाल सिक्किमीकरण वा विखण्डन गर्न षडयन्त्र गर्दै आएको यथार्थता पनि आम नेपालीहरुलाई थाहा छ। तर पनि नेपाल सुरक्षित रहन सफल भएको छ। यसको एकमात्र कारण हो नेपालको उत्तरतिर छिमेकी चीनको उपस्थिति हुनु।
यदि तिब्बत चीनको अभिन्न अङ्गका रुपमा नरहेर त्यहाँ ईण्डो–पश्चिमा शक्तिहरुको पकड भएको भए नेपालको अवस्था कस्तो हुन्थ्यो ? यसको उत्तर प्रष्ट छ– हाम्रो देश चारैतिरबाट साम्राज्यवादी शक्तिहरुको घेराबन्दीमा हुन्थ्यो र आफ्नो सार्वभौम अस्तित्व गुमाउने खतराको संभावना प्रबल हुन्थ्यो। यसकारण, नेपालीहरुले तिब्बतलाई चीनको अभिन्न अङ्गका रुपमा आत्मसात गरेर यो नेपालको सार्वभौमिकता र नेपाली राष्ट्रियताको पनि परिस्थितिजन्य तत्व हो भन्ने यथार्थता मनन् गर्न जरुरी छ। बाह्य शक्तिहरूले छिमेकी मित्र राष्ट्रहरूमा गर्ने चलखेलमा नलाग्नु नै देशहित हुन आउछ!                                                       (त्रिमूल नेपाल का दस्तावेजहरु बाट)