ज्यान मुद्दामा श्रीमान् जेलमा : श्रीमतीले पाईन बच्चा, जेलबाट छुटाइदिने आश्वासन दिँदै बलात्कार गर्ने युवक फरार !

चितवन/कर्तव्य ज्यान मुद्दामा श्रीमान् जेलमा छन् । गाउँकै काका पर्ने व्यक्तिलाई मारेको आरोप उनीमाथि छ । श्रीमान् जेलपरेपछि श्रीमती कसरी हुन्छ उनलाई छुटाउन लागि परिन् । घरको कमाउने र पालनपोषण गर्ने मुख्य व्यक्ति नै श्रीमान् थिए ।
श्रीमानलाई कसरी छुटाउने होला भन्ने चिन्ता उनमा थियो । उनको चिन्ताअनुसार नै गाउँका एक युवक उनको लागि शुभचिन्तकजस्तो बनेर देखा परे । विकट गाउँकी चेपाङ समुदायकी ती गरिब महिलाका अगाडि न्याय दिलाइ दिने आश्वासन दिए ।

गाउँकै मान्छेले श्रीमानलाई जेलबाट छुटाइदिने भनेपछि उसकै साथ लागेर भरतपुर आइन् । आफ्नो श्रीमान छुट्ने भनेपछि उनले निकै विश्वास गरिन् । तर विश्वासको फाइदा उठाउँदै ती युवाले महिलालाई नारायणगढको कुनै एक होटलमा बलात्कार गरे । श्रीमान् छुटाउने जिम्मा लिएका ती पुरूषले गरेको नाजायज क्रियाकलापविरूद्ध उनी बोल्न सकिनन् । उनले आफू बलात्कृत हुँदासमेत प्रतिकार गरिनन् । ‘जेलमा रहेको श्रीमान् जेलबाट छुट्छन् भन्ने आशमा आफू बलात्कृत हुँदा पनि केही गर्न सकिनँ, ती महिलाले भनिन् ।

बेलाबेलामा श्रीमान् भेट्न उनी तीनै युवाको साथमा आउँथिन् । श्रीमानसँग उनको भेटघाट हुन्थ्यो, ती युवाबाट छुटाउने आश्वासन पनि पाएकी थिइन् । तर बलात्कार पीडित बनेकी ती महिलाले बच्चा जन्माइन् । चार वर्षदेखि श्रीमान जेलमै छन्, तर श्रीमतीले बच्चा जन्माएपछि गाउँमा हल्लाखल्ला भयो । उनले विस्तारै आफ्ना कुराहरु सार्वजनिक गरिन् । आरोप लागेका ती पुरूष गाउँ छाडेर भागे ।

नवजात शिशुसहित महिला न्यायको लागि जिल्ला प्रहरी कार्यालय भरतपुर आइन् । जबरजस्ती करणी भएको उल्लेख गरी जाहेरी दिइन् । प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको छ । चितवन प्रहरी महिला सेलका अनुसार आरोप लागेका युवाको खोजी भइरहेको छ । ‘पीडितले हामीकहाँ जाहेरी दिएकी छन्, हामीले फरार रहेका भनिएको व्यक्तिको खोजी थालेका छौँ, चितवन प्रहरी प्रवक्ता डिएसपी सूर्य थापाले भने ।

हाल जेलमा रहेका श्रीमानतर्फ पनि एक छोरा रहेको पाइएको छ । झाँक्री काम गर्दै आएका आफ्नै काकालाई श्रीमानसहित गाउँका तीन युवाले घाँटीमा डोरीले कसेर मारेको भनी अदालतबाट दोषी ठहर भई उनीहरु भरतपुर कारागारमा छन् । यो समाचार चितवनपोष्ट दैनिकमा दिपेन्द्र अधिकारीले लेखेका हुन।