दलाल संसदीय व्यवस्था कि वैज्ञानिक समाजवाद ? छनौट गर्ने अधिकार जनताले पाउनुपर्ने !
चितवन/नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले वैज्ञानिक समाजवाद कि दलाल संसदिय व्यवस्था के रोज्ने भन्ने अधिकार जनताले पाउनुपर्ने बताएका छन। उनलेे यो विषयमा खुल्ला छलफल गर्नुपर्ने र त्यसको लागि तयार रहन सम्पूर्ण राजनीतिक दल, बुद्धिजिवी, कर्मचारी, शिक्षक, व्यवसायी लगायत आम जनसमुदायमा अपिल गरेका छन् ।
आज शनिबार नेपाल कम्युनिस्ट पार्टी चितवनले आयोजना गरेको सहिद परिवार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता बिप्लबले नेपालका सबै राजनीतिक दलको अन्तिम लक्ष्य समाजवाद भन्ने तर प्राप्तिको लागि बहस छलफल गर्न समेत तयार नहुनुले संसदीय भाषमा भासिएका दलहरूले जनताको आँखामा छारो हाल्ने र भ्रम सिर्जना गर्ने कार्य गरेको भन्दै यसप्रकारको भ्रम छर्ने कार्य बन्द गर्न आग्रह समेत गरे । उनले संसदीय व्यवस्थाको उच्चतम विकल्प वैज्ञानिक समाजवाद भएको ठोकुवा गर्दै यस विषयमा बहस तथा जनमत संग्रहका लागि तयार रहन अपिल गरेका हुन् ।
उनले हालको संसदीय व्यवस्था पूर्ण रुपमा असफल भएको भन्दै आफूहरु असफल दलाल संसदीय व्यवस्थामा कुनै पनि हालतमा नजाने र वैज्ञानिक समाजवादका लागि निरन्तर बहस र संघर्ष गरिरहने बताए कार्यक्रममा बोल्दै उनले भने, -‘संसदीय व्यवस्था दलाल पुँजीवादीहरुको व्यवस्था भएकोले ४० वर्षदेखि चलेपनि पूर्ण रुपमा असफल भएको र यही व्यवस्थाका कारणले आज जनताले दुख पाइरहेको, देशमा वैदेशिक हस्तक्षेप बढेको, दिनदहाडै राष्ट्रिय स्वाधिनता र अस्मिता लुटिएको, महंगी भ्रष्टाचारमा व्यापक बुद्धि भइरहेको, देशले गरिबी भोग्नु परिरहेको र नेपाली युवायुवती खाडीमा बेचिनु परेको दु:खद अवस्था भोग्नुपरेको बताए। उनले अघि थपे त्यसैले हामी यो असफल दलाल संसदीय व्यवस्थामा जाँदैनौ र यो व्यवस्था परिवर्तन गरि जस्तो सुकै मूल्य चुकाएर भए पनि जनताको र सहिद परिवारहरुले खोजेको जस्तो वैज्ञानिक समाजवाद ल्याउने छौं र वैज्ञानिक समाजवाद ल्याउन दलाल संसदीय व्यवस्था बदल्न सबै एकजुट भएर लागौं ।’
महासचिव विप्लवले आफूहरु शान्तिपूर्ण बाटोबाट नै वैज्ञानिक समाजवाद ल्याउन खोजेको र त्यसको लागि जनमत संग्रहको प्रस्ताव ल्याएको तर यस विषयमा छलफल गर्न कुनै राजनैतिक दलहरु तयार नभएको बताएका छ्न् । उनले भने, -‘हामीले शान्तिपूर्ण बाटोबाट यस दलाल संसदीय व्यवस्थाको विकल्प स्वरुप वैज्ञानिक समाजवाद ल्याउन चौतर्फी बहस चलाउनुका साथै वैज्ञानिक समाजवाद र संसदिय व्यवस्थाका बिच जनमत संग्रहको प्रस्ताव ल्यायौँ तर बाहिर समाजवाद-समाजवाद भन्ने अनि संसदीय व्यवस्थालाई नै उत्कृष्ट व्यवस्था मान्नेहरु बहसमा भाग लिन तयार नभएको खुलासा गरे।
उनले संसदीय व्यवस्था अनुरुप नेता र पार्टी चुन्ने चुनाव बारम्बार भएको तर त्यसले देशको उचित राजनैतिक निकास दिनुको सट्टा उल्टो देश झन् राजनैतिक अस्थिरतामा फस्नुको साथै विस्तारवाद र साम्राज्यवादको क्रिडा स्थल बन्न पुगेको भन्दै अब नेता र पार्टी चुन्ने चुनाव नभइ व्यवस्था छान्ने जनमतसंग्रह हुनुपर्ने र जनताले आफूले खोजेको जस्तो व्यवस्था आफै छान्न पाउनु पर्ने समेत बताए ।