नारायणगढ-बुटवल सडकमा असार मसान्तसम्म पुल निर्माण सम्पन्न हुदै
जेठ २१। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत निर्माणाधीन पुल असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको छ । आयोजनाको खण्ड–१ मा पर्ने दाउन्ने गैँडाकोट सडकको गैँडाकोट नगरपालिका क्षेत्रमा निर्माणाधीन सातवटा माइनर ब्रिज (साना पुल) निर्माणमा सम्पूर्ण जनशक्ति केन्द्रित गरिएको आयोजनाले जनाएको छ ।आयोजनाका प्रमुख रमेशकुमार दिस्टीले गैँडाकोटको थुम्सीबाट मुकुन्दपुरसम्म सडक डाइभर्सन गरेर सात स्थानमा पुल निर्माणको काम जारी रहेकाले वर्षा अगाडि नै निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको जानकारी दिनुभयो । नारायणगढ–बुटवल सडक विस्तारका लागि यस खण्डमा खटिएका सबै मजदुरलाई आवश्यकतानुसार पुल निर्माणको काममा प्रयोग गरिएको दिस्टीले बताउनुभयो ।
तीनवटा पुलमा एप्रोच रोड ९पुललाई सडकसँग जोड्ने बाटो० बनाएपछि सवारी साधन सञ्चालन गर्न सकिने दिस्टीले बताउनुभयो ।आयोजनाअन्तर्गत खण्ड–१ को काममा अहिले ८० देखि १०० जनासम्म मजदुर प्रयोग हुने गरेका दिस्टीले बताउनुभयो । अहिले पुल निर्माणको काममा स्थानीय मजदुर बढी प्रयोग भइरहेका दिस्टीले बताउनुभयो ।आयोजनाको कामको शुरुआती समयमा ६०० जनासम्म मजदुर निर्माणमा खटिएकामा अहिले घटेका उहाँको भनाइ छ । साना पुल निर्माणको काम सकिएपछि अन्य कामलाई प्राथमिताका आधारमा अगाडि बढाइने आयोजना प्रमुख दिस्टीले बताउनुभयो ।नारायणगढ–बुटवल सडक विस्तारका क्रममा खण्ड–१ मा साना १०० भन्दा बढी कल्भर्ट निर्माण भइसकेका छन् । सो खण्डमा २२ वटा साना पक्की पुल तथा १२ वटा ठूला पक्की पुल निर्माण हुँदैछन् । फलामे पुल भएको स्थानमा ठूलो पक्की पुल निर्माण हुने आयोजना प्रमुख दिस्टीले बताउनुभयो ।नारायणगढ–बुटवल सडकको ११४ किलोमिटर क्षेत्रलाई दुईवटा खण्डमा विभाजन गरेर सडक विस्तारको काम अगाडि बढाइएको छ । गैँडाकोटबाट दाउन्ने (६५ किमी) खण्ड–१ र दाउन्नेबाट बुटवल (४९ किमी)लाई खण्ड–२ मानेर विस्तारका लागि ठेक्का दिइएको छ । दुवै खण्डको सडक विस्तारका लागि ग्लोबल टेण्डरमार्फत चाइना स्टेट कन्स्ट्रक्शन इञ्जीनियरिङ कर्पोरेशनले रु १६ अर्ब ९९ करोड ५२ लाखमा ठेक्का पाएको छ ।रासस