खोप आयातमा निजी क्षेत्रलाई प्रोत्साहन गरी अनुमति दिन माग 

शुक्रवार चितवनका प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई बुझाइएको संयुक्त ज्ञापनपत्रमा खोप आयातका लागि अनुमतिप्राप्त संस्थाहरुलाई यथाशिघ्र आयात गर्न सक्ने गरी सहजीकरण तथा समन्वय गरिदिनुपर्ने माग गरिएको छ ।

ज्ञापनपत्रमा  सामाजिक सुरक्षा कोषमा आबद्ध औद्योगिक प्रतिष्ठानहरुलाई प्रोत्साहनस्वरुप नेपाल सरकारका कर्मचारीहरुसरह प्राथमिकता दिई निःशुल्क खोप लगाउने व्यवस्था गर्नुपर्ने उल्लेख छ । यसैगरी, अतिविपन्न र गरिबीको रेखामुनि रहेका जनतालाई तत्काल निःशुल्क खोपको व्यवस्था गर्नुपर्ने उनीहरुले माग गरेका छन ।

१५ महीनादेखि विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथामको लागि गरिएको बन्दाबन्दी र निशेधाज्ञाको समयमा  जोखिमका बीच पनि  औद्योगिक उत्पादनको कमी नहोस उत्पादनलाई समेत निरन्तरता दिइएको ज्ञापनपत्रमार्फत जानकारी गराइएको छ ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले निजी क्षेत्रहरुबाट हस्ताक्षर भएर आएको ज्ञापनपत्रलाई सम्बन्धित निकायसमक्ष छिट्टै पु¥याउने बताउनुभयो  ।

ज्ञापनपत्रमा चितवन उद्योग संघका अध्यक्ष राजु पौडेल, निजी अस्पताल समन्वय समितिका अध्यक्ष डा नारायणसिंह कुँवर, नेपाल चिकित्सक संघ चितवनका अध्यक्ष डा लोकबहादुर सेढाईं, निर्माण व्यवसायी संघ चितवनका अध्यक्ष उमानन्द कँडेल, नेपाल कुखुरा व्यवसायी मञ्च चितवनका अध्यक्ष राजेन्द्र लामिछाने, क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराई, नेपाल क्रेट उत्पादक संघका अध्यक्ष दण्डपाणि भट्ट लगायतको हस्ताक्षर रहेको छ ।