चितवनमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २०० नाघ्यो
चितवन जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २०० नाघेको छ ।
मृत्यु हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका हुन् । स्वास्थ्य कार्यालय चितवनका तथ्यांक अधिकृत गीताञ्जली ढकालका अनुसार हालसम्म जिल्लामा २०६ जनाको मृत्यु भएको छ ।
जिल्लाका विभिन्न अस्पताल र होमआइसोलेसनमा उनीहरूको मृत्यु भएको हो ।
जिल्लाका अस्पतालमा बाहिरी जिल्लाबाट उपचार गर्न आउने संक्रमितको संख्यामा पनि ठूलो रहेको छ । उपचारका लागि बाहिरी जिल्लाबाट आएकाहरूमा २६४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
जिल्ला र बाहिरी जिल्लाका मृतकमध्ये ३२८ जनाको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ । व्यवस्थापन गरिएका शव परिवारको सल्लाहमा पारिवारिक संस्कारअनुसार जलाउने वा गाड्ने गरिएको छ ।
मृतकमध्ये १३३ जनाको शव भने परिवारले नै व्यवस्थापन गरेका छन् ।
जिल्लामा हालसम्म १२ हजार ९७५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । तीमध्ये ४ हजार ८३४ सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये ४ हजार ६५८ होमआइसोलेसनमा रहेका छन् भने १६२ अस्पतालमा र १४ जना सामुदायिक आइसोलेसनमा रहेको ढकालले जानकारी दिए । उनका अनुसार ७ हजार ९३५ जनाले कोरोना संक्रमण जितेका छन् ।