दुई दिन देशभर मौसम परिवर्तन हुने,सतर्कता अपनाउन मौसमविदको आग्रह
जेठ ०५। अरब सागरमा विकसित भएको ताउ ते चक्रवात (सामुद्रिक आँधी)को प्रभावले नेपालका सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने मौसमविदले बताएका छन् । केही स्थानमा अति भारी वर्षा पनि हुने भएकाले नदीहरुमा आकस्मिक बाढी आउने र यातायात क्षेत्र प्रभावित हुन सक्ने मौसमविदको पूर्वानुमान छ ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले केही नदीहरुको बाढी सतर्कताको तहसम्म पुग्ने भन्दै तटीय क्षेत्रमा नजान सबैलाई आग्रह गरेको छ ।मौसमविद शान्ति कँडेलका अनुसार सामुद्रिक आँधीको प्रभावले अहिले चितवन, म्याग्दी जिल्लासहित गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।
अरब सागरमा बनेको ताउ ते चक्रवात अहिले कमजोर भइसकेको छ । यो अहिले चक्रवातको रुपमा छैन । मौसमविदहरुले यस्तो अवस्थालाई ‘डिप्रेसन’ भन्छन् । यो अहिले केही शक्तिशाली न्युनचापीय क्षेत्रको रुपमा छ र यो उत्तर–उत्तर पूर्व सर्ने क्रममा छ । उत्तर–उत्तर पूर्व सर्ने क्रममा नेपालको पश्चिमी क्षेत्र नजिक पर्ने भएकाले पूर्वी नेपालको तुलनामा पश्चिम नेपालका जिल्लाहरुमा बढी प्रभाव पर्ने मौसमविदको भनाइ छ ।यद्यपि पूर्वतिर पनि पानी पर्ने र हिमपात हुने भएकाले आज र भोलि दुई दिन देशभर नै सतर्कता अपनाउनुपर्ने मौसमविद कँडेलले बताइन् ।चक्रवातको प्रणाली र पश्चिमी वायुको प्रणाली आपसमा मिसिंदा आजको तुलनामा भोलि बढी वर्षा र हिमपात हुने मौसमविदहरुको पूर्वानुमान छ । त्यसैले मौसम पूर्वानुमान महाशाखाले शुक्रबारसम्म आरोहण नगर्न आग्रहसहित यसअघि नै विशेष बुलेटिन जारी गरेको थियो ।चक्रवातको प्रभावले वर्षा हुँदा बाढी पनि आउन सक्ने भएकाले तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन मौसमविदले सुझाव दिएका छन् ।