चितवनमा पनि बैशाख १६ देखि १५ दिन सम्म निशेधाज्ञा ! Surya Baral | प्रकासित मिति : १५ बैशाख २०७८, बुधबार १२:४५ बुधबार, बैशाख १५, २०७८ / कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि चितवनमा पनि यहि वैशाख १६ गते देखि १५ दिनसम्म निषेधाज्ञा जारी गरिने भएको छ । जिल्लास्थित कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले कोरोना भाइरसको नयाँ भेरियन्ट उग्र रूपले फैलिएकाे भन्दै आगामी वैशाख १६ गते राति १२ बजेदेखि ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा गर्ने भएको हो । जिल्ला प्रशासन कार्यालयले दिएको जानकारी अनुसार संक्रमणको जोखिम, जिल्लामा रहेका अस्पतालको उपचार क्षमता, महामारीको रोकथाम तथा न्यूनीकरणमा भएका प्रयास, संक्रमण बढाउने भीडभाडजन्य गतिविधि, मन्त्रिपरिषद्ले वैशाख १३ गते सुनाएको निर्णय तथा सरोकारवालाहरूले दिएको राय एवं सल्लाहका आधारमा निषेधाज्ञा गरिएको हो । निषेधाज्ञा जारी भएपछि अनावश्यक काममा नहिँड्न प्रशासनले अनुरोध गरेको छ । सकेसम्म घरै बसेर काम गर्न तथा बाहिर निस्किन परेमा स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य रूपमा पालना गर्न प्रशासनले भनेको छ । प्रशासन कार्यालयले निषेधाज्ञाको अवधिमा कुनै पनि सभा, सम्मेलन तथा भीड जम्मा हुने कार्यक्रम नगर्न पनि सूचनामार्फत भनेको छ । यद्यपि राष्ट्रिय जनगणना कार्यक्रमलाई निरन्तरता दिनुपर्ने भएकाले जनगणनामा खटिने व्यक्तिहरूलाई जनस्वास्थ्यको मापदण्ड भने पालना गर्न भनिएको छ । त्यसैगरी मानिसहरूको भीड हुने होटल, रेष्टुरेन्ट, स्वीमिङ पुल, फिटनेस, पुस्तकालय, ब्युटिपार्लर, जस्ता स्थानको सञ्चालनमा पनि प्रतिबन्ध लगाइएको छ । विद्यालय, क्याम्पस तथा अन्य कुनै पनि शिक्षण संस्थाले विद्यार्थीको भौतिक उपस्थितमा पठनपाठन गराउन पाउने छैनन् भने परीक्षा लगायत शैक्षिक गतिविधि पनि सञ्चालन गर्न पाइने छैन । प्रशासन कार्यालयले विवाह, भोज, जस्ता कार्यक्रम पार्टी प्यालेसमा आयोजना नगर्न पनि निर्देशन दिएको छ । यद्यपि घरायसी कार्यक्रम भने १५ जनाभन्दा बढी मानिस उपस्थ्ति नहुने गरी जनस्वास्थ्यको मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने प्रशासनले जनाएको छ । यस्तै, निषेधाज्ञाको अवधिमा छोटो तथा लामो दूरीमा चल्ने सार्वजनिक एवं निजी सवारीसाधन पनि चलाउन पाइने छैन । मृत्यु संस्करमा अनिवार्य उपस्थित भई सवारी साधनको प्रयोग गर्नुपरेमा भने व्यक्तिले प्रशासन कार्यलयको अनुमति लिनुपर्ने जिल्लास्थित कोभिड१९ संकट व्यवस्थापन केन्द्रको भनाइ छ । जिल्लाभित्र रहेका विभिन्न धार्मिक मटमन्दिर, गुम्बा, मस्जिद, चर्च आदिमा नित्यपूजा बाहेक अन्य जमघट हुने कार्य पनि गर्न नपाइने प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । यस्तै चिवतन राष्ट्रिय निकुञ्ज, नारायणी नदी तथा अन्य स्थानमा हुने पर्यटकीय गतिविधिलाई रोक्न पनि प्रशासन कार्यालयले अनुरोध गरेको छ । प्रशासन कार्यालयका अनुसार अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालय बाहेक अन्य कार्यालयबाट प्रवाह हुने सवा पनि बन्द रहनेछ। प्रशासन कार्यालयले खाद्य सामग्री, तरकारी, फलफूल, दुग्ध उत्पादन, ग्यास पसल, पेट्रोल पम्प, लगायत अत्यावश्यक वस्तु तथा सेवा आपूर्ति गर्ने बाहेकका पसल तथा व्यवसायको सञ्चालनमा पनि रोक लगाएको छ ।