उच्च ज्वरो र श्वासप्रश्वासमा समस्याका कारण छात्राको होस्टेलमै मृत्यु

घनश्याम गौतम,वैशाख १२ । रूपन्देही — तिलोत्तमा नगरपालिकाको नयाँमिलस्थित प्यारामाउन्ट बोर्डिङ स्कुलको होस्टलमा रहेकी छात्राको उच्च ज्वरोले मृत्यु भएपछि विद्यार्थी र अभिभावकमा त्रास छाएको छ । कक्षा १० मा पढ्ने १५ वर्षीया प्रतिमा सापकोटाको शनिबार मृत्यु भएको हो । दुई दिनदेखि रुघाखोकी, ज्वरो र श्वासप्रश्वासको समस्या देखिए पनि विद्यालयले समयमै उपचार नगर्दा घटना भएको अभिभावकको आरोप छ ।

छात्रा बिरामी भएको भन्दै शनिबार बिहान खबर पाएपछि आफन्तले नजिकैको क्रिमसन अस्पताल लगेका थिए । अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरे । विद्यालयको होस्टलमा करिब ८० विद्यार्थी बस्छन् । अन्य विद्यार्थीमा पनि रुघाखोकीको समस्या देखिएको छ । घटनापछि धेरै अभिभावकले छोराछोरी घरमै लगेका छन् । स्थानीय प्रशासनले विद्यालय बन्द गर्न निर्देशन दिए पनि नगरपालिकाले वैशाख २० गतेभित्र सबै परीक्षा सम्पन्न गर्न निर्देशन दिँदै परीक्षा सञ्चालन गरिरहेको छ । विद्यालयका सहप्राचार्य लीलाधर किराँतले होस्टलमा बसेर अध्ययन गरी परीक्षामा सहभागी विद्यार्थीको मृत्यु भएको बताए । ‘हिजोदेखि ज्वरो आएको हो,’ उनले भने, ‘आजै अभिभावकलाई खबर गरेर अस्पताल पठाएका हौं ।’

सुरुमा केही जानकारी नदिएको प्रतिमाका ठूलोबुबा दधिराम सापकोटाले बताए । ‘बिहान ११ बजेतिर बिरामी भन्दै खबर गरियो, अस्पताल पुर्‍याउँदा छोरीको मृत्यु भइसकेको थियो,’ उनले भने, ‘विद्यालयले पैसाका नाममा विद्यार्थी थुनेर राखेर मार्ने काम गरेको छ ।’ विद्यालयले कोभिडका कारण मृत्यु भएको भन्दै उम्किने प्रयास गरेको तर पोस्टमार्टम गर्न आफूहरूले माग गरेको उनले बताए ।

विद्यालयले अभिभावक बोलाएर जिम्मा लगाउन लागेको थियो । तर, विद्यार्थीमा रुघाखोकी र ज्वरो देखिएकाले पीसीआर परीक्षण गरेर मात्र लैजाने अडानमा अभिभावक छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णप्रसाद सापकोटाले रुघाखोकी देखिएका ४३ विद्यार्थीको शनिबार नै स्वाब संकलन गरेर पठाइएको बताए । ‘मैले हिजोदेखि नै विद्यालय बन्द गर्न निर्देशन गरेको थिएँ,’ उनले भने, ‘तर, आज नै दुःखद घटना भयो, लापरबाही भएको भए छानबिन गर्छौं ।’ होस्टल वार्डेन परशुराम पुरीले प्रतिमाको अवस्था शुक्रबारसम्म राम्रै रहेको र शनिबार अचानक ज्वरो आएकाले तत्कालै उपचारका लागि पठाइएको बताए । शनिबार स्वाब संकलन गरिएका विद्यार्थी र मृतक छात्राको रिपोर्ट आइतबार मात्र आउने प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाले जनाएको छ ।