चितवन माडीको अयोध्यापूरीमा भगवान राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति प्रतिस्थापन !

अयोध्या धाम विकासको लागि सरकारले थप लगानी गर्ने।

चितवन/आज चितवनको माडी अयोध्यापूरीमा नवनिर्मित राम मन्दिरमा भगवान राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति प्रतिस्थापन गरिएको छ। काठमाण्डौ देखि ल्याईएको मूर्ति हजारौंको संख्याको रथयात्रा गर्दै माडी नगरपालिका वडा नं. ९ स्थित कृष्णनगरको मन्दिरमा मूर्ति प्रतिस्थापन गरिएको हो ।
करीव १ सय विगाहा क्षेत्रफलमा रहेको सो स्थानमा १६ लाखको लागतमा निर्माण गरिएको मूर्ति प्रतिस्थापन गरिएको हो । मूर्तिलाई माडीमा लगेपछि परशुराम कुण्डको जलले जल अभिषेक गरिएको थियो । मूर्तिसहितको रथयात्रा टोली दिउँसो ३ बजे माडी आइपुगेको थियो । माडी नगर क्षेत्रका विभिन्न स्थानमा स्थानीय समुदायले घर घर अगाडि घडा राखेर ताली बजाएर स्वागत गरेका थिए । कार्यक्रममा विभिन्न थारु संस्कृती झल्कने झाँकीहरुको प्रर्दशन गरिएको थियो ।

मंगलवार विहान प्रधानमन्त्री केपी ओलीले पूजाआजा गरेर बालुवाटारबाट विदाइ गरेका थिए । रथ यात्रासहित ल्याइएका मूर्तिलाई आज बिहान देवघाट सङ्गमस्थलको पवित्र जलले जलाभिषेक गरेर देवघाटबाट बिदाइ गरिएको थियो ।

चितवनको दासढुंगा नारायणगढ, चौविसकोठी, विकास चोक, पटिहानी हुँदै रथयात्राको टोली माडी आएको थियो । रथयात्रामा सयौं मानिसहरु सहभागी भएका छन् । पर्साको ठोरी, भरतपुर लगायतका ठाँउबाट ठूलो संख्यामा मानिसहरु माडी आएका छन् ।

मूर्ति राखिएपछि आयोजित कार्यक्रममा संस्कृति तथा पर्यटनमन्त्री भानुभक्त ढकाल, प्रदेश नं. २ का प्रमुख राजेश अहिराज, बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणी पौडेल, चितवन निर्वाचन क्षेत्र नं. २ का सांसद कृष्णभक्त पोखरेल सहितको उपस्थितिमा मन्दिरमा मूर्तिको राखिएको हो । कार्यक्रममा बोल्दै संस्कृती पर्यटन तथा नागरिक उड्यनमन्त्री भानुभक्त ढकालले माडीको अध्योयापूरीमा भगवान रामको जन्म भएको यथेष्ट प्रमाण भएको बताए ।

रामधामको गुरुयोजना बनाएर थप भौतिक पूर्वाधार निर्माण गरिने उनको भनाइ छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अयोध्याधामको विकासका लागि प्रदेश सरकारले लगानी गर्ने बताए ।

गत असार २९ गते प्रधानमन्त्री ओलीले रामको जन्म माडीको अयोध्यापुरीमा भएको भन्ने अभिव्यक्ति दिएपछि त्यहाँ राम मन्दिर स्थापना गर्ने प्रक्रिया शुरू भएको थियो । प्रधानमन्त्री ओलीको निर्देशनमा तीन महिना अगाडि नै बालुवाटारमा राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति बनाइएको थियो ।

अहिले राखिएका मूर्तिलाई पछि मूल मन्दिर बनाएर राख्ने योजना रहेको अयोध्याधाम प्रचारसमितिका संयोजक श्री प्रसाद दवाडीले जानकारी दिए ।