बाइस करोडभन्दा बढीको आलु उत्पादन
हेटौँडा, असार ३० गते/मकवानपुरको थाहा नगरपालिका क्षेत्रका कृषकले खेतबारीमा लगाएको आलु बिक्री गर्ने अन्तिम चरणमा छन् । स्थानीय कृषकले यो वर्ष २२ करोड रुपियाँभन्दा बढीको आलु उत्पादन गरेका छन् । गत वर्षभन्दा आलु उत्पादनमा गिरावट आएको बताउँदै थाहा नगरपालिकाको कृषि विकास शाखाका शाखा अधिकृत सञ्जय तिवारी यो वर्ष २२ करोड ५० रुपियाँभन्दा बढीको आलु उत्पादन भएको जानकारी दिनुभयो ।
आलु फल्ने समयमा अधिक वर्षा भएर आलु उत्पादनमा ह्रास आएको भन्दै उहाँले भन्नुभयो, बढी पानी पर्दा खाद्यान्न, तरकारीलगायतका सबै बालीमा नोक्सनी भएको छ । आलु उत्पादनमा ह्रास आए पनि गत वर्षभन्दा कृषकले आलुमा यो वर्ष राम्रो मूल्य पाएका छन् । गत वर्ष प्रतिहेक्टर २० टन आलु उत्पादन भएकोमा यो वर्ष थाहा नगरमा प्रतिहेक्टर १५ टन मात्र आलु उत्पादन भएको अनुमान छ । यो वर्ष नौ हजार टन आलु उत्पादन भएको अनुमान छ, तिवारीले भन्नुभयो ।
कृषकले गत वर्ष आलु प्रतिकेजी १८ देखि ३० रुपियाँसम्ममा बिक्री गरेकोमा यो वर्ष सुरुमा प्रतिकेजी १८ रुपियाँमा बिक्री भएकोमा पछि सेतो आलु प्रतिकेजी ४० रुपियाँ र रातो आलु प्रतिकेजी ४४ रुपियाँसम्ममा बिक्री गरेका छन् । दामन, पालुङ र वज्रवाराही क्षेत्रको आलु उत्पादन भई बिक्री अन्तिम चरणमा पुगेको र आग्रा क्षेत्रको आलु निस्कँदा अहिलेको मूल्यलाई हेर्दा प्रतिकेजी ५०रुपियाँ बारीमा नै पर्ने आकलन गरिएको उहाँले बताउनुभयो ।
गत माघ–फागुनमा खेतबारीमा लगाएको आलु असारको पहिलो सतासम्म निकाल्न स्थानीय कृषक व्यस्त रहेका थिए । थाहा नगरपालिकाको दामन, पालुङ, आग्रा, वज्रवाराही, चित्लाङलगायतका स्थानको अधिकांश क्षेत्रमा स्थानीयले आलु खेती गर्दै आएका छन् । थाहा नगरपालिकाका कृषि विकास शाखाका शाखा अधिकृत तिवारीले आलु खनेर मकै र तरकारी लगाइएको जानकारी दिनुभयो । यो वर्ष अधिकांशले आलु लगाएको खेतबारीमा मकै र केहीले तरकारी लगाएका छन् । उहाँले भन्नुभयो, बन्दाबन्दीका कारण स्थानीयले उत्पादन गरेको तरकारी बिक्री नभएको उचित मूल्य नपाउने समस्याका कारण यो पटक अधिकांशले मकै खेती गरेका हुन् ।
गत वर्ष पनि आलुमा फल लाग्ने समयमा अधिक वर्ष भएका कारण डढुवा लागेर बोट मर्दा आलु उत्पादनमा २०–२५ प्रतिशतले ह्रास आएको थियो । थाहा नगरपालिकाको करिब छ सय हेक्टर क्षेत्रफलमा आलु खेती गरिएको थियो । कृषकले कार्डिनल, स्थानीय रातोलगायतका चार जातका आलु आफ्नो खेतबारीमा लगाएका थिए । सिँचाइ सुविधा नभएको स्थानमा आकांशको भरमा पर्नुपर्ने र उत्पादित आलु भण्डारण गर्न काठमाडौँ र हेटौँडासम्म धाउनुपर्ने बाध्यता रहेको छ ।
सिँचाइ सुविधा नभएको क्षेत्रमा सुरुमा सुक्खाका कारण आलु उत्पादन कम हुने र आकाशको भर पर्नुपर्ने समस्या रहेको छ । दामन–पालुङ क्षेत्रमा शीत भण्डारको अभावमा उत्पादन गरेको आलु बढी मूल्य पाउने समयमा पछि बिक्री गर्न मात्र होइन बीउका लागि भण्डारण गर्नसमेत समस्या हुँदै आएको छ । दामन–पालुङमा शीत भण्डार नहुँदा बीउ आलु भण्डारण गर्न काठमाडौँ वा हेटौँडा पुग्नुको विकल्प कृषकसँग नरहेकोमा हाल थाहा नगरमा शीत भण्डार निर्माण सुरु गरिएको छ ।
बाग्मती प्रदेश सरकार, थाहा नगरपालिका र स्थानीय सहकारी संस्थाहरूसँगको सहकार्यमा शीत भण्डार निर्माण सुरु गरिएको हो । स्थानीय कृषकले उत्पादन गरेको आलु काठमाडौँ, चितवन, वीरगञ्ज, हेटौँडा, पोखरालगायतका स्थानमा बिक्री हुँदै आएको छ । गोरखापत्र दैनिकबाट