नेकपा सचिवालय बैठक बस्दै : मुख्य एजेण्डा-एमसीसी
३२ जेठ, काठमाडौं /आज सत्तारुढ नेकपाको सचिवालयको बैठक बस्दै छ । बैठक अपराह्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । बैठकको मुख्य एजेण्डा एमसीसी परियोजना रहेको सचिवालयका एकजना सदस्यले जानकारी दिए ।
बैठकमा एमसीसी कार्यदलका सदस्यद्वय भिम रावल र प्रदीप ज्ञवालीका साथै अर्थमन्त्री डा। युवराज खतिवडालाई पनि आमन्त्रित सदस्यको रुपमा बोलाइएको ति सदस्यले बताए । सम्भवतः आजको बैठकबाट नेकपाले एमसीसीबारे टुंगो लगाउने उनको दाबी छ ।
संसदको चालु अधिवेशनबाट एमसीसी पारित गर्ने कि नगर्ने भनेर टुङ्गो लगाउन नेकपामाथि दबाव छ । पार्टीभित्र एमसीसी पारित गर्न नहुने पक्ष हाबी छ । पार्टीले गठन गरेको कार्यदलले एमसीसी जस्ताको त्यस्तै पारित गर्न नहुने सुझाव दिएको छ ।
सुरुसुरुमा एमसीसी पारित गर्नैपर्ने पक्षमा देखिएका प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय भने यसलाई पारित गराउन जोडबल नगर्ने पक्षमा रहेको उनी निकट नेताहरु बताउँछन् ।