माडी नगरपालिका पाँच दिनको लागि सिल!
चितवन/माडी नगरपालिकालाई पाँच दिनसम्मका लागि सिल गरिएको छ। बुधबार बसेको नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले पाँच दिनसम्मका लागि नगरलाई नै सिल गर्ने निर्णय गरेको हो।
अत्यावश्यकीय सवारी साधनबाहेक अन्यको हकमा यस अवधिमा माडी प्रवेश गर्ने र माडी बाहिर जाने कार्यलाई पूर्णरूपमा बन्द गरिएको नगरप्रमुख ठाकुरप्रसाद ढकालले जानकारी दिए। जिल्लामा कोरोना सङ्क्रमित बढ्नुका साथै माडी नगरपालिकामा नै सङ्क्रमित देखापरेपछि यस्तो निर्णय गरिएको नगरप्रमुख ढकालले बताए।
समितिको निर्णयअनुसार माडीभित्र पनि सबै मोटरसाइकल, अटो, टेम्पोलगायत सवारी साधन चलाउन पूर्णरूपमा रोक लगाइएको, त्यस्तै अत्यावश्यकीय सेवा प्रदान गर्ने संस्था तथा पसल बाहेक अन्य सङ्घसंस्था तथा पसल पूर्णरूपमा बन्द गराउने, अति आवश्यक कामले घर बाहिर निस्कनुपरेमा सुरक्षाकर्मीलाई जानकारी गराउनुका साथै सामाजिक दूरी कायम गरी मास्कको प्रयोग अनिवार्यरूपमा गर्ने, सङ्घसंस्था तथा पसलमा हात धुने व्यवस्था र सामाजिक दूरी कायम गर्नेरगराउने निर्णय भएको छ।
माडीमा पहिलोपटक सोमबार छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो। उनीहरु भारतबाट आएर सोमेश्वर माविको क्वारेन्टिनमा रहेका थिए। उनीहरु हाल भरतपुर कोरोना विशेष(अस्थायी)अस्पतालमा उपचाररत छन्।