भोलिबाट पसल खुल्ने, सवारीसाधनलाई केही सहज
२८ जेष्ठ २०७७, बुधबार २२:५१
काठमाडौं/मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले पसल खोल्ने दिने निर्णय गरेको छ । त्यस्तै सवारी साधनलाई पनि जोर(बिजोरका आधारमा संचालन गर्न दिने निर्णय गरेको हो । यो प्रणाली काठमाडौं उपत्यका लगायतका कोरोना भाइरसको संक्रमण कम भएका क्षेत्रमा मात्रै लागु गर्ने निर्णय भएको हो ।
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनका अनुसार सरकारले भोलिबाट नै बजार खोल्न दिने भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारको प्रतिनिधिसभा बैठकमा जनजीवन सहज पार्नका लागि निर्णय लिने बताएका थिए ।
मन्त्रिपरिषद्को राति १० बजे सकिएको बैठकले जनजीवन सहज पार्नका लागि पसल खोल्न दिने र सवारी साधन संचालनमा पनि खुकुलो पार्ने निर्णय गरेको हो । ‘ट्याक्सी, मोटरसाइकल लगायतका निजी सवारी साधन संचालन गर्न दिने निर्णय भएको छ । ती सवारी साधन जोर(बिजोर प्रणालीमा संचालन हुनेछन् । लामो रुटकालाई भने अहिले अनुमति नदिने भनिएको छ,’ मन्त्री पुनले भने । जोर अंकको गते सवारी साधनको अन्तिम अंक जोर भएका सवारी साधन र बिजोर अंकको गते सवारी साधनको अन्तिम अंक बिजोर भएका सवारी साधन मात्रै चल्न पाउनेछन् ।
जसअनुसार चारपांग्रे निजी सवारी साधनमा चालकबाहेक २ जना र मोटरसाइकलमा एकजनामात्रै बस्न पाउनेछन् ।
मन्त्रिपरिषद् बैठकले लकडाउनको खुकुलो पार्ने मोडालिटी तय गरेको हो । जनजीवन सहज पार्नका लागि मन्त्रिपरिषद्ले गरेका सबै निर्णय र लकडाउन खुकुलो पार्ने मोडालिटी बिहीबार मात्रै सार्वजनिक गर्ने भएको छ । (ईकान्तिपुरबाट)