‘अव्यवस्थित क्वारेन्टाइनले संक्रमण विस्तार’
काठमाडौँ । मापदण्ड नपुगेका अव्यवस्थित क्वारेन्टाइनले कोभिड–१९ को संक्रमण विस्तारमा सघाएको दाबी विज्ञहरूले गरेका छन् । पर्सा, रूपन्देही र कपिलवस्तुमा क्वारेन्टाइनबाट संक्रमण फैलिएको उनीहरूको भनाइ छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार मुलुकभरि १५ हजार ६ सय ८३ जना क्वारेन्टाइनमा छन् । सबैभन्दा बढी प्रदेश ५ मा ८ हजार ३ सय २५ जना क्वारेन्टाइनमा छन् । सुदूरपश्चिममा २ हजार ९ सय १६, प्रदेश २ मा २ हजार ५१, कर्णालीमा १ हजार ८२, प्रदेश १ मा ८ सय ८५, गण्डकीमा ३ सय ७ जना र सबैभन्दा कम वाग्मतीमा १ सय १७ जना क्वारेन्टाइनमा छन् ।
इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा। जीडी ठाकुरले स्कुल, खाली ठाउँमा बनाइएको क्वारेन्टाइनमा कुनै आधारभूत सुविधा नभएको र व्यक्तिगतरसामाजिक दूरी कायम राख्न प्रेरित पनि नगरिएको बताए । ‘केही क्वारेन्टाइनमा त साबुनपानीले हात धुने व्यवस्थासमेत छैन,’ उनले भने, ‘स्थानीय सरकारहरूद्वारा निर्मित अव्यवस्थित क्वारेन्टाइन संक्रमण फैलाउने ठाउँ बनेको छ ।’
स्वास्थ्य मन्त्रालयका एक उच्च पदाधिकारीले पनि क्वारेन्टाइनमा उच्च जोखिम भएकाहरूको पीसीआर परीक्षण गर्दा अत्यधिक पोजिटिभ देखिएको बताए । मन्त्रालयले पछिल्लो समय क्वारेन्टाइनमा बसेका व्यक्तिहरूलाई लक्ष्य गरी पीसीआर परीक्षण बढाएको छ । विज्ञहरूका अनुसार पहिलो पटक चीनबाट विद्यार्थी ल्याउँदा सरकारले बनाएको क्वारेन्टाइन विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार थियो ।