नेपालमा एकैसाथ पाँचवटा वायु प्रणाली सक्रिय, एक सातासम्म निरन्तर वर्षा हुने
काठमाडौं/नेपालमा एकैसाथ पाँचवटा वायु प्रणाली सक्रिय बनेको छ । पाँचवटै प्रणाली सक्रिय हुँदा अझै एक साता वर्षाले निरन्तरता पाउने भएको छ । झुलुक्क घाम लाग्ने अनि फेरि बादल लागेर पानी पर्ने सम्भावना बढी छ ।
नेपालमा यति बेला पश्चिमी वायु, स्थानीय वायुका साथै नेपालको पूर्र्वी भू–भागमा वर्षा गराउने न्यून चापीय प्रणाली कायम रहेको छ । त्यस्तै बङ्गालको खाडीबाट नेपाल प्रवेश गरेको जलवाष्पयुक्त वायु र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको प्रभाव पनि उत्तिकै सक्रिय बनेको छ । पूर्वमनसुन (प्रिमनसुन)को समयमा लगातार वर्षा गराउन यिनै पाँच वायु प्रणाली कारक रहेकाले वैशाखको सुक्खा याममा पनि पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैका कारण एक सातासम्म वर्षा हुने अनुमान महाशाखाले गरेको छ । मौसमविद् प्रतिभा मानन्धरले भनिन्, “अहिले नेपालमा चारैतिर वायु नै वायुको प्रभाव परेको छ, जसका कारण पानी पर्ने क्रम निरन्तर झैं हुने देखिएको छ ।
”पश्चिमी वायुको प्रभाव रहँदै गर्दा अन्य वायुले पनि साथ दिएकाले वर्षा मौसममा झैं वर्षा भइरहेको उनले बताइन् तर वर्षाको समयको झरी जस्तो लगातार बर्सिरहने गुण भने यसमा नरहने उनले प्रस्ट्याइन् । झुलुक्क घाम लाग्ने अनि फेरि बादल लागेर पानी पर्ने गुण यस समयमा भइरहने गर्छ । साथै प्रिमनसुनको विशेषता मेघ गर्जन, चट्याङ, हावाहुरी र असिना पानी बढी हुने गर्छ । यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छिन् ।