अब लकडाउन खुकुलो हुने, कार्ययोजना बन्दै
काठमाडौं/लकडाउनलाई खुकुलो र खुला गर्ने उद्देश्यसहित सरकारले कोभिड–१९ बहिर्गमन रणनीति तयार पारेको छ । कोभिड–१९ को सम्भावित महामारी कम गर्न ४० दिनदेखि जारी लकडाउनले सर्वसाधारणको जनजीवन अस्तव्यस्त भएको र मुलुकको आर्थिक अवस्थासमेत कमजोर हुँदै गएको विश्लेषण गर्दै सरकारले सो कार्ययोजना तयार पारेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तयार पारेको सो रणनीतिमा उल्लिखित कार्ययोजनामा सिंगो देशलाई तीन क्षेत्रमा विभाजन गरी सोही अनुसार लकडाउनलाई खुकुलो बनाइने तयारी गरिएको हो । जसअनुसार अब स्वास्थ्यसम्बन्धी तथ्यांक र वैज्ञानिक विश्लेषणका आधारमा देशका विभिन्न भागलाई हरियो क्षेत्र (ग्रिन जोन) पहेँलो क्षेत्र (एलो जोन) र रातो क्षेत्र (रेड जोन ) मा विभाजन गरिनेछ । ग्रिन जोनमा पर्ने जिल्ला तथा क्षेत्रमा लकडाउन हटाएर सबै क्रियाकलाप खुला राखिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ ।
यसैगरी, संक्रमण नियन्त्रण उन्मुख रहेको जिल्ला र क्षेत्रलाई (एलो जोन) र सो क्षेत्रमा मुख्य क्रियाकलाप मात्रै खुला गरिने र संक्रमण नियन्त्रणबाहिर रहेको क्षेत्रमा भने लकडाउन जारी राखिनेछ । यो समाचार आजको राजधानी दैनिकमा छ ।