अनियमितता भएको भन्दै रेडक्रसमा छानबिनको माग
काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीमा अनियमितता देखिएको भन्दै छानबिन गर्नुपर्ने माग गरिएको छ । महिला तथा सामाजिक समितिको शुक्रबारको बैठकमा सांसदहरुले सोसाइटीमा भएको भ्रष्टाचार, नातावाद, राजनीतिकरण मौलाउँदै गएको भन्दै छानबिन गर्नुपर्ने माग गर्नुभएको हो ।
सोसाइटीमा देखिएको अनियमितताबारे छानबिन गरेर दोषीउपर कारवाही गर्नुपर्ने भन्दै दीपेन्द्र ढकाल, वसन्त श्रेष्ठ, दिनेश आचार्य, शम्भु निरौला र दीपक घिमिरेले समितिसमक्ष उजुरी दिनुभएको छ । उहाँहरुले सोसाइटीको नेतृत्व तहले संस्थामा राजनीतिकरण, संस्थाको जग्गा हिनामिना र भ्रष्टाचार गरेकोलगायतका आरोप लगाउँदै समितिमा उजुरी गर्नुभएको हो ।
सांसद लक्ष्मी परियार, विमला परियार र थममाया थापालगायतले सोसाइटीमा देखिएको अनियमिताका बारेमा प्रक्रियागत ढङ्गबाट छानबिन गर्नुपर्ने बताउनुभयो । समितिका सभापति निरुदेवी पालले आवश्यक छलफल र अनुसन्धानका आधारमा छानबिन गरी कारवाही प्रक्रिया अगाडि बढाउने बताउनुभयो । ९रासस०