गैँडाकोट महोत्सवको तयारी अन्तिम चरणमा
आगामी बुधबारदेखि गैँडाकोटकमो नारायणी नदीकिनारमा सञ्चालन हुने तेस्रो गैँडाकोट महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । गैँडाकोट नगरपालिकाको नारायणी नदीकिनारमा माघ २६ गतेसम्म सञ्चलन हुने महोत्सवमा स्टल निर्माण, गेट निर्माण अन्तिम चरणमा पुगेको हो । गेट, स्टल तथा बाल उद्योन निर्माणको काम तीव्र पारिएको उद्योग वाणिज्य संघ नवलपुरका अध्यक्ष अमृत भट्टचनले बताए । महोत्सवस्थलमा कृषिका ४० वटा स्टल, विभिन्न जाजातिका नौ वटा सांस्कृतिक घरसहित उद्योग, वाणिज्य, व्यवसायिक तथा पर्यटनसम्बन्धी गरी ३५० भन्दा बढी स्टल निर्माण रहने भट्टचनले बताए । स्थानीय उत्पादनलाई प्रोत्साहन र व्यवसाय प्रर्वद्धनका लागि महोत्सव गर्न लागिएको उल्लेख गर्दै भट्टचनले नेपाल भ्रमण वर्ष २०२० का सन्दर्भमा नवलपुरमा आन्तरिक पर्यटक वृद्धि गर्नका लागि समेत महोत्सवले पनि थप ऊर्जा प्रदान गर्नेे बताए । महोत्सवका सचिवालय प्रमुख एवम् जिल्ला उद्योग वाणिज्य संघ नवलपुरका महासचिव छविलाल कँडेलले महोत्सवको उद्घाटनका दिन तीन सय भन्दा बढी संघसंस्थाहरु शोभायात्रामा सहभागी हुने जानकारी दिए । शोभायात्रामा सहभागीमध्येबाट उत्कृष्टलाई पुरस्कृत गरिने समेत कँडेलको भनाइ छ । भव्यताका साथ महोत्सव सम्पन्न गराउनका लागि स्थानीय प्रशासन, प्रहरी, स्थानीय सरकार तथा स्थानीयवासीको पूर्ण सहयोग र समर्थन रहेको कँडेलले बताए । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुति हुने जनाउँदै रसियन कलाकारहरुबाट दैनिक बेली डान्स लगायतका कार्यक्रम हुने उनको भनाइ छ । यसपटक महोत्सवमा बुर्ज अल अरब दुबई (सेल्फी जोन) र लण्डन ब्रिज आकारको कलात्मक प्रवेशद्वार हुने कँडेललेल बताए । महोत्सवका आर्थिक तथा प्रचार प्रसार उप समिति संयोजक एवम् संघका कोषाध्यक्ष शालिकराम सापकोटाले महोत्सव सफल पार्न विभिन्न २२ वटा उप समिति गठनगरि काम अघि बढाइएको बताए । महोत्सवअवधिभर महोत्सव स्थलमा भायोनेट कम्युनिकेशन प्रालिले २०० एमबीपीएसको इन्टरनेट निःशुल्क प्रदान गरेको सापकोटाले जानकारी दिए । महोत्सव स्थलमा सञ्चार माध्यमका लागि सूचना संप्रेशण गर्नका लागि विशेष व्यवस्था हुने सापकोटाले बताए । महोत्सव अवलोकनका लागि ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको उल्लेख गर्दै सापकोटाले विद्यार्थी तथा समूहमा जानेका लागि विशेष सहुलियत प्रदान गरिने बताए । गैँडाकोट नगरपालिका, जिल्ला समन्वय समिति नवलपुर, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा आन्तरिक तथा वाह्य व्यपार, उद्योग, कृषि, पर्यटन, सूचना सञ्चार लगायतका क्षेत्रलाई प्रर्वद्धन गर्ने र पर्यटन वर्ष २०२० लाई सफल बनाउने उद्देश्य लिएर तेस्रो गैँडाकोट महोत्सव आयोजना गरिएको हो ।