चोभार–दक्षिणकाली सडक : ठेकेदारको लापरबाही, निर्माण सुस्त
काठमाडौँ । काठमाडौँको चोभारदेखि दक्षिणकाली जाने सडकको निर्माण मङ्सिरमै पूरा गर्ने प्रतिबद्धता जनाइए पनि सम्बन्धित निकायको कमजोरी र ठेकेदार कम्पनीको लापरबाहीका कारण अझै पूरा हुन सकेको छैन ।
सो सडक निर्माण हुन नसक्दा सुरु हुन लागेको नेपाल भ्रमण वर्षको सन्दर्भमा पर्यटनको एक महŒवपूर्ण गन्तव्यका रूपमा रहेको दक्षिणकालीसमेत ओझेलमा पर्ने देखिएको छ ।
सङ्घीय राजधानी काठमाडौँ र प्रदेश ३ को राजधानी हेटौँडा जोड्ने सबभन्दा छोटो वैकल्पिक बाटोका रूपमा रहेकोे यो सडक सम्बन्धित निकाय र स्थानीय जनप्रतिनिधिले मङ्सिरभित्रै निर्माणको काम सम्पन्न गर्ने प्रतिबद्धता जनाए पनि अहिले निर्माण कार्य भने कछुवा गतिमा अगाडि बढेको छ । काम नगर्नेले उल्टै अनेक बहानाबाजी गर्ने गरेको पाइएको छ । वर्षायाममा काम भएन, दशैँ–तिहारले काम भएन, अनि अर्को बहाना सुरु भएको छ– चिसोले काम हुन सकेको छैन । यो सडकखण्ड निर्माण हुन नसक्दा वर्षाको समयमा हिलो तथा हिउँदको समयमा धुलोले यहाँका बासिन्दा र यात्रुले सास्ती व्यहोर्दै आएका छन् । उनीहरूको स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएको छ । यो सडकको कुल लम्बाइ ९.३६ किलोमिटर छ ।
यसअघि गोरखापत्रसँगको कुराकानीमा मङ्सिरभित्रै सो सडकको सम्पूर्ण निर्माण सम्पन्न गर्ने प्रतिबद्धता गर्नुभएका भक्तपुर–नगरकोट–सिपाघाट–बल्खु–दक्षिणकाली सडक योजनाका प्रमुख जगत प्रजापतिले चिसोका कारण मङ्सिरभित्र निर्माण हुन नसकेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “मङ्सिरदेखि सुरु भएको अत्यधिक चिसोका कारण सोचेअनुसार काम गर्न सकिएन, चिसो कम हुँदै गएपछि निर्माण कार्यले गति लिनेछ । ’’ सडकको ‘प्राइम लेयर’को काम पूरा भइसकेको बताउँदै उहाँले कालोपत्रे गर्ने क्रममा दुई तहमध्ये पहिलो तहको कालोपत्रे भइसकेको छ । उहाँले अन्तिम कालोपत्रे पुसभित्र सम्पन्न गर्ने बताउनुभयो ।
“यस सडकखण्डमा कालोपत्रे गर्ने काम डेढ किलोमिटर मात्र बाँकी छ’’, उहाँले थप्नुभयो, “विस्तार तथा स्तरोन्नतिको काम अन्तिम चरणमा छ । अबको एक महिनाभित्र सम्पूर्ण काम पूरा हुनेछ । ” भक्तपुर – नगरकोट– सिपाघाट–बल्खु– दक्षिणकाली सडक योजनाअन्तर्गत चोभारमा निर्माणाधीन सुक्खा बन्दरगाहदेखि दक्षिणकालीसम्म यो सडक खण्ड विस्तार हुन लागेको हो । अहिले बिग्रेका सडकको कालोपत्रे, भत्केका सडक किनारको मर्मत सम्भारलगायतका काम भइरहेको उहाँले बताउनुभयो । यस सडक सामान्य ९ग्रानेल सेलिङ० स्तरमा निर्माण गर्ने गरी सम्झौता भएको हो । सडकका दुवैतिर गाउँबस्ती भएको, गाउँका मानिसले घरको छतको पानी सडकमा खसाल्ने गरेको, माटो र निर्माण सामग्रीका कारण सडकको नाली पुरिने गरेकाले सडक बिग्रिने गरेको दाबी योजनाको छ ।
मुआब्जा र खम्बा समस्या
योजनाका अनुसार यो सडक विस्तारमा मुख्य समस्या मुआब्जा वितरण नै हो । कतिपय ठाउँमा घरजग्गाको मुआब्जा भुक्तानी लिएर पनि अहिलेसम्म घर नभत्काइएको र मुआब्जामा चित नबुझी घर भत्काउन नमानेको अवस्था छ । उहाँले भन्नुभयो, “८८ वटा घरको मुआब्जा दिनुपर्नेमा अहिलेसम्म साठीवटाको मुआब्जा वितरण भइसकेको छ । मुआब्जाका कारण आठ ठाउँमा सडक साँघुरो भएको छ । ”
घर यथावत् राखी कालोपत्रे
हटाउन बाँकी घरको बलेसीलगायतका केही भाग मात्र सडक क्षेत्रमा पर्ने हुनाले सडक विस्तार तथा कालोपत्रे गर्न कुनै समस्या नहरेको बताउँदै उहाँले बाँकी मुआब्जा वितरण यथावत् राखेर पनि अबको एक महिनाभित्र विस्तार कार्य सम्पन्न गर्ने स्पष्ट पार्नुभयो ।
घर हटिसकेपछि सडक विभागले आफ्नै खर्चमा सो ठाउँको बाँकी काम पूरा गर्ने उहाँले बताउनुभयो । उहाँका अनुसार विद्युत् प्राधिकरणले विद्युत्को खम्बा समयमा नहटाउँदा पनि समयमा काम गर्न ढिलाइ भएको हो । विद्युत्को खम्बा हटाउन प्राधिकरणलाई परिपत्र भई लाग्ने खर्चसमेत भुक्तानी भइसकेको छ ।
दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले सडक क्षेत्रमा परेका घरहरू घरधनीले नहटाउँदा तथा मुआब्जा विवादका कारण मङ्सिरभित्र सो सडकका काम सम्पन्न हुन नसकेको बताउनुभयो । सडक निर्माणको अधिकांश काम सम्पन्न भइसकेको बताउँदै उहाँले पुसभित्र सम्पूर्ण निर्माण सम्पन्न भइसक्ने जानकारी दिनुभयो । गोरखापत्रबाट ।