कुलमान घिसिङलाई सम्मान गर्दै सकियो हात्ती महोत्सव ।


चितवन/चितवनको सौराहामा गत पुष १० गतेबाट शुरु गरिएको हात्ती महोत्सव शुक्रवार सकिएको छ । प्रदेश ३ का प्रमुख विष्णु प्रसाईको प्रमुख आतिथ्यतामा १६ औं संस्करणको हात्ती महोत्सवको समापन गरिएको हो ।
समापन कार्यक्रममा महोत्सवको आयोजक संस्था क्षेत्रीय होटल संघ नेपाल चितवनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सम्मान गरेको छ ।
घिसिङले देशलाई लोडसेडिङ मुक्त गराएका कारण पर्यटन क्षेत्र फष्टाउन सफल भएको भन्दै उनलाई सम्मान गरिएको संघका अध्यक्ष दीपक भट्टराईले जानकारी दिए ।
महोत्सवको अन्तिम दिन हात्ती पोलो र हात्तीका छावाहरुको फुटवलको फाईनल भएको थियो । मौषमका कारण दुवै खेलको निर्णय पेनाल्टी सुट आउटबाट गरिएको थियो ।
हात्ती पोलोमा खैरहनी नगरपालिकाले रत्ननगर नगरपालिकालाई पराजीत गर्दै यस वर्षको उपाधी जितेको महोत्सवको प्रतियोगिता संयोजक अन्जन पाण्डेले बताए ।
खैरहनीले पेनाल्टीमा १ गोल गर्दा रत्ननगरले कुनै गोल गर्न सकेन । त्यस्तै हात्तीका छावाहरुको फुटवलको उपाधी चितवन उद्योग संघले जितेको छ । समापन कार्यक्रम क्षेत्रीय होटल संघका अध्यक्ष दिपक भट्टराईको अध्यक्षतामा भएको थियो ।
महोत्सवमा हात्ती पोलो र फुटवल वाहेक हात्ती श्रृंगार, हात्ती वनभोज,हात्ती सुन्दरी,गाढा श्रृंगार,महिला बीच भलिवल,डुंगा दौड,हात्ती फास्ट वाक प्रतियोगिता लगायतका गतिविधी गरिएको थियो ।
महोत्सवकै अबसर पारेर प्रदेश सरकारले नेपाल भ्रमण बर्षको शुभारम्भ गरेको थियो ।