चितवनको सौराहाबाट नेपाल भ्रमण बर्ष २०२०को शुभारम्भ ।

चितवन/प्रदेश नम्वर ३ सरकारले नेपाल भ्रमण बर्ष २०२० को चितवनको सौराहाबाट शुभारम्भ गरेको छ । प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भ्रमण बर्षको शुभारम्भ गरिएको हो । उद्घाटन समारोहमा पर्यटन मन्त्री अरुण कुमार नेपाल,सामाजिक विकास मन्त्री युवराज दुलाल र आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलको उपस्थिति थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख श्रेष्ठले प्रदेश नम्वर ३ पर्यटनको प्रचुर सम्भावना बोकेको क्षेत्र भएको बताए । उनले नेपालका उत्कृष्ट पर्यटकिय गन्तव्यहरु यही प्रदेशमा रहेको भन्दै भ्रमण बर्षमा लाखौ पर्यटक भित्राइने बताए ।
यस्तै पर्यटनमन्त्री अरुण नेपालले प्रदेश नं ३ मा कला, संस्कृति र भेषभूषा अनुपन रहेको भन्दै कला,संस्कृति र भेषभूषालाई पर्यटन विकासको आधार बनाइने बताए । कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर नारायण वन, जिल्ला समन्वय समिति चितवनका सभापति कृष्णकुमार डल्लाकोटी,क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दीपक भट्टराई लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा प्रदेश साँसद, मेयरहरु,उपमेयरहरु,निजी क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । शुभारम्भ कार्यक्रम अघि प्रदेश अन्तर्गतका विभिन्न साँस्कृतिक नृत्य प्रर्दशन गरिएको थियो ।