चितवनमा सवारी दुर्घटना भयाबह बन्दै गएपछी समिक्षा सुरु : दुर्घटना न्युनिकरणका लागी रणनीतिक कार्ययोजना बनाएर अघि बढनुपर्नेमा जोड


सुर्य बराल/चितवन/ जिल्लामा दैनिकजसो सडक दुर्घटना भई दर्जनौं घाईते हुने र ज्यान जाने क्रम बढेपछी सरोकारवालाहरुले चिन्ता जनाएका छन् । आज जिल्ला प्रशासन कार्यालय चितवनमा आयोजित समुदाय साझेदारी अभियान अन्तर्गत सडक दुर्घटना न्यूनीकरण सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा दुर्घटना न्युनिकरण सम्बन्धमा सरोकारवाला पक्षहरुबिच गम्भिर समिक्षा सुरु भएको हो ।
जिल्लामा भरखर सरुवा भई आएका नयाँ प्रमुख जिल्ला अधिकारी स्वंयले चितवन आएलगत्तै ठुल्ठुला सडक दुर्घटना भएको प्रत्यक्ष देखेपछी गम्भिर एवं चिन्तित भई प्रमुख जिल्ला अधिकारीकै बिशेष पहल र सक्रियतामा दुर्घटना न्युनिकरण गर्ने सम्बन्धमा प्रारम्भिक छलफल तथा अन्र्तक्रिया कार्यक्रम शुरु भएको हो ।
दुर्घटना न्युनिकरण गर्न एक्शन प्लान सहित अगाडी बढ्नुपर्ने निष्कर्ष निकालेका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटट्राईको अध्यक्षतामा भएको कार्यक्रममा साघुँरो सडक, समयमा पुर्ननिर्माणको अभाव, निर्माणाधिन सडक अलपत्र पार्ने ठेकेदार प्रबृती, मापसे, ट्राफिक प्रहरीको सख्ँया तथा श्रोत साधनको कमी र अन्य बिबिध कारणले गर्दा सडक दुर्घटना बढेको सरोकारवालाहरुले छलफलको क्रममा बताएका थिए ।
जिल्ला प्रशासन कार्यलय चितवन, जिल्ला प्रहरी कार्यालय चितवन, ट्राफिक प्रहरी कार्यालय चितवनको आयोजनामा भएको सो कार्यक्रममा चितवनका जिल्ला ट्राफिक प्रमुख चन्द्रकुमार गिरीले दुर्घटनाको कारण र न्युनिकरण सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । प्रस्तुत तथ्याङ्कमा मुख्य राजमार्ग भन्दा भित्री सडकमा दुर्घटना बढेको देखाइएको छ ।
कार्यालयको तथ्याङ्क अनुसार आर्थिक बर्ष ०७४, ०७५ मा २७१ वटा सवारी दुर्घटनामा १३२ जनाको मृत्यु, ५२९ जना घाइते भएका थिए । ०७५, ०७६ मा २९५ सवारी दुर्घटनामा १४६ जनाको मृत्यु र ५५८ जना घाइते भएका थिए । चालु आर्थिक बर्षको मंसीर मसान्त सम्म १४८ वटा सवारी दुर्घटना मध्ये ६५ जनाको मृत्यु र ३ सय १ जना घाइते भएका छन ।
प्रतिबेदन अनुसार भरतपुर रिङरोडमा मात्रै चालु अर्थिक वर्षको ८ महिनामा सात जनाको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन् । कार्यक्रममा ट्राफिक प्रमुख गिरीले चितवनमा आवश्यकताअनुसार ट्राफिक प्रहरी नभएको गुनासो गरेका थिए ।
उनले देशकै केन्द्र रहेको यो जिल्लामा ८८ किलोमिटर राजमार्ग रहेको र हालपनि २० बर्ष अघिकै दर्बन्दी अनुसार जिल्लाभरीमा ट्राफिक प्रहरीको दरबन्दी ३१ जनाको मात्र भएको काजमा आएका सहित ५५ जनामात्र जनशक्ति रहेको बताए । बढ्दो सहरीकरण , सवारी साधन र सडक प्रयोगकर्ताको चापलाई व्यवस्थित गरी सडक दुर्घटनामा न्यूनीकरणका लागि थप ४० जना प्रहरी जनशक्ति थप्नुपर्ने माग राखे ।
कार्यक्रममा सहभागी विमला मगरले मादक पदार्थ सेवन तत्कालै परीक्षण गरिए पनि लागूपदार्थको परीक्षण हुन नसक्नुले पनि दुर्घटना बढेको बताइन् । सो अवसरमा बोल्दै नारायणी यातायात व्यवसायी संघका अध्यक्ष शंकर गिरीले जनशक्ति अभाव र बाटोको संरचनाका कारणनै बढी दुर्घटना भएको बताए ।
यस्तै रत्ननगर नगरपालिका उपप्रमुख विमला दुवाडीले डिभाइडरमा ठोक्किएर, बाटोमै सवारीसाधन राख्दा बाटो साघुँरो भई दुर्घटना बढिरहेको बताइन् । यस्तै चितवन जिल्ला प्रशासन कार्यलय प्रमुख नारायणप्रसाद भट्टराईले चितवनमा बाढी पछि सडक दुर्घटना दोस्रो विपद्को रुपमा रहेको अवस्था जानकारी गराउँदै यसको न्यूनीकरणको लागि विभिन्न रणनीतिक कार्ययोजना बनाएर अगाडि बढ्ने बताए ।
प्रमुख जिल्ला अधिकारी भट्टराइले काठमाडौ र ललितपुर पछि सबैभन्दा बढी दुर्घटना चितवनमा हुने गरेको भन्दै यसलाई बिशेष रणनीीतनै तय गरेर जानुपर्ने भन्दै त्यस्को लागी वन्यजन्तु वारपार गर्ने ठाउंँमा टाइमकार्ड लागु गरिने, महानगरमा सार्वजनिक सवारी को रुट निर्धारण गर्ने, व्यस्त शहर र रिङ्गरोडमा ठूला सार्वजनिक वस चलाउने , बढी जाम हुने क्षेत्र र बढी सवारी संख्या हुने सवारी साधनको तथ्याक लिई सोही अनुसार जनशक्ति परिचालन गरिने लगायतका कार्ययोजनाहरु लागु गरिने छ ।
कार्यक्रममा जिल्ला प्रहरी प्रमुख दानबहादुर मल्ल, माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकाल, चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडी, सातैवटा पालिकाका जनप्रतिनिधि, जिल्लाका पार्टी प्रतिनिधि, सरकारी सुरक्षा निकायका प्रमुख, जिल्ला स्थित यातायात कार्यालय, सडक कार्यालय, यातायात व्यवसायी, स्कुल का प्राचार्यहरु, पत्रकार लगायत सरोकारवालाको उपस्थिति रहेको थियो ।