राप्ती महोत्सवमा हालसम्मकै धेरै दर्शक
५ कार्तिक, राप्ती । राप्ती नगरपालिकाको विरेन्द्रनगरमा जारी प्रथम राप्ती महोत्सवमा आज हालसम्मकै सर्वाधिक दर्शकले अवलोकन गरेका छन । महोत्सवको कृषि परिसर, विभिन्न व्यसायिक स्टलहरु, बाल उद्यान, जातजातिको घर लगायत साँस्कृतिक कार्यक्रममा दर्शकको भीड उल्लेख्य रहेको थियो । महोत्सव प्रवद्र्धन समितिका संयोजक दिनेश सेढाईका अनुसार शनिबार मात्र दशौँ हजार दर्शकले महोत्सव अवलोकन गरेका छन । उनका अनुसार दर्शकको बाक्लो उपस्थितिले महोत्सवमा ब्यापार समेत उल्लेख्य बृद्धि भएको छ ।
महोत्सवमा रहेको सेल्फि जोनमा दर्शकहरु झुम्मिएका छन । पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्यले बनाइएको सेल्फि जोनमा तस्वीर लिनेहरुको भीड लागेको छ । त्यस्तै मगर, चेपाङ र थारु जातिको साँस्कृतिक घरमा समेत दर्शकको भीड छ । चेपाङ घरमा चेपाङले खाने कन्दमुल गिठासमेत दर्शकले खाने गरेका छन ।
साँस्कृतिक कार्यक्रममा पनि दर्शक ओइरिएका छन । आज चर्चित गायक प्रमोद खरेलको बिशेष प्रस्तुति रहेको थियो । प्रमोदसँगै उमादेवी खनाल, खुश्बु खडका, बेबु आचार्यलगायतले दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । साँस्कृतिक कार्यक्रमअन्तर्गत भोलि चर्चित गायक प्रकाश सपुत, गायिका प्रिती आले लगायतको प्रस्तुति रहने साँस्कृतिक कार्यक्रम संयोजक प्रदिप उप्रेतीले जानकारी दिए ।
राप्ती नगरपालिका र राप्ती उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा आयोजित महोत्सवको बिहिबार पुर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दहालले उदघाटन गरेका थिए । विभिन्न २५० वटा स्टलहरु रहेको महोत्सव कार्तिक ९ गतेसम्म चल्नेछ । महोत्सवले स्थानीय स्तरमा उत्पादित बस्तुहरुको प्रवद्र्धन र नगरको पर्यटकिय बिकासमा मद्धत पुर्याउने बिश्वास लिइएको छ ।