मुगु । मुगुको छायाँनाथ रारा नगरपालीका ४ का शोबबहादुर भामका परिवारलाई आफ्नो बगैंचामा फलेका स्याउ टिप्न भ्याइनभ्याई छ । किसान कर्णबहादुर भामका परिवार पनि स्याउ टिप्न आफ्नो बगैंचामा बिहानैदेखि व्यस्त देखिन्छिन् ।
शोबबहादुर र कर्णबहादुरका घरपरिवार मात्र होइन, यतिबेला मुगु जिल्लाका स्याउ किसानलाई स्याउ टिप्ने चटारो छ । मुगुका बाम, ताल्च, रोवा, शोभा, खमाले सेरीलगायतका क्षेत्रमा स्याउको पकेट क्षेत्र मानिन्छ ।
भदौ लागेसँगै किसानलाई स्याउ टिप्न भ्याइनभ्याई भएको हो । अधिकांश किसान बिहान सबेरैदेखि राति अबेरसम्म स्याउ बारीमै स्याउ टिप्न व्यस्त देखिन्छन । स्याउ ढिलो टिपे कुहिने र बिक्री नहुने समस्याले स्याउ किसान धमाधम स्याउ टिपेर बगैंचा खाली गर्न थालेका हुन् ।
२० वर्ष पहिले स्याउ कार्तिकमा पाक्ने भए पनि मौसम परिवर्तनले भदौमा स्याउ पाक्न थालेको किसान कर्णबहादुर भामले जानकारी दिनुभयो ।
उहाँ भन्नुहुन्छ, ‘आफ्नो बारीमा २ यस बोट छन् । ७० क्विन्टल स्याउ उत्पादन हुने अनुमान गरेको भए पनि बजारको अभावले स्याउ कसरी खपत गर्ने भन्ने पिरलो छ ।’
स्याउ टिपरे गोठमा राखिएका छन् । स्याउ राम्रो फले पनि सडक नुहँदा स्याउको बजारको समस्याले किसानहरू दुखी छन् । स्याउ टिपीसक्दा पनि मोटर बाटो सञ्चालनमा आउने छाँटकाट नदेखिएपछि आफूहरूलाई घाटा हुने हो कि भन्ने चिन्तामा किसान छन् ।
बगैंचामा स्याउ पाकी सके पनि वर्षाका कारण कुहिएर खेर जाने हो कि भन्ने चिन्ता रहेको छायानाथ रारा नगरपालिका ५ का स्याउ किसान लालसुवा भामको भनाइ छ ।
मौसम राम्रो हुँदा स्याउका चाना बनाउन सकिन्थ्यो तर मौसम राम्रो छैन । ताल्च विमानस्थल भएर नेपालगञ्ज जाने हवाई यात्रुले दुईचार केजी स्याउ लैजान्छन् अरु बगैंचामा झर्न थालेको छन् भने टिपेका स्याउ पनि गोठमा थन्काउनु परेको छ ।
स्याउ राख्ने कार्टुन नहुदाँ पनि किसानलाई समस्या भएको छ । स्याउ टिप्न डोकाको प्रयोग गर्ने गरेका भए पनि असजिलो हुने र स्याउमा दाग लाग्ने किसाहरुले बताउने गरेका छन् ।
कृषि ज्ञान केन्द्र जुम्ला सम्पर्क केन्द्र मुगुकाका अनुसार यस वर्ष गत वर्षकोभन्दा स्याउ उत्पादन बढ्ने अनुमान गरिएको छ ।
अघिल्लो आर्थिक वर्षमा १५ मेट्रिक टन स्याउ उत्पादन भएको भए पनि यस वर्ष जिल्लामा ३५ मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र जुम्ला सम्पर्क केन्द्र मुगुका निमित्त कार्यालय प्रमुख सुकिराम नेपालीले बताउनुभयो ।
त्यो मध्ये जिल्ला बाहिर अघिल्लो वर्ष चार मेट्रिक टन मात्र निर्यात भएको थियो । यो बर्ष सडक अवरुद्धले गर्दा स्याउ निर्यातमा समस्या हुने देखिन्छ । मुगुको स्याउ उत्पादन बढे पनि गुणस्तर भने खस्कँदै गएको छ ।
स्याउ बिरुवाको समयमै काँटछाँट नहुनु, मलजल नगर्नु, किरा लाग्नुलगायत कारणले गुणस्तर भने खस्कँदै गएको निमित्त प्रमुख नेपालीको भनाइ छ ।