२ करोड माग्दै गाउँपालिका अध्यक्षलाई ज्यान मार्ने धम्की दिनेलाई प्रहरीले ठोक्यो गोली
काठमाडौँ, २४ साउन । काठमाडौँको स्वयम्भू बिजेश्वरीमामा प्रहरीले गोली चलाएको छ । महानगरीय अपराध महाशाखा काठमाडौँबाट खटिएको प्रहरी टोलीले गोली चलाएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिएका छन्् ।
गाउँपालिका अध्यक्षलाई दुई करोड माग्दै ज्यान मार्ने धम्की दिने व्यक्तिलाई पक्रन प्रहरीले गोली चलाएको हो । बिजेश्वरी हाउजिङमा रहेका लोप्सन भनिने मिलन तामाङलाई दुई गोली हानेर नियन्त्रण लिइएको एसएसपी थापाले जानकारी दिए ।
रामेछाप मन्थली नगरपालिकाका तामाङले सोही जिल्लाको लिखु गाउँपालिका अध्यक्ष गोविन्द खड्कालाई
टेलिफोनबाट धम्की दिएका थिए । काठमाडौँ रहेर धम्की दिँदै आएका उनलाई पक्रन गएको महाशाखाको टोलीले गोली चलाएको हो ।
उनको घुँडामा दुई गोली लागेको महाशाखा प्रमुख एसएसपी थापाले बताए । प्रहरी टोलीलाई देख्नेवित्तिकै भागेपछि पक्रन उनमाथि गोली चलाइएको थापाको भनाई छ ।
मिलनसँगै उनका साथी अमृत तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरु गुण्डागर्दी र लुटपाटमा संलग्न रहँदै आएको प्रहरीले बताएको छ ।
गोली लागेका तामाङलाई उपचारका लागि वीरको ट्रमा सेन्टर लगिएको छ ।