काँग्रेस भातृ संगठनको माग : राधेलाई नछाडे देशब्यापी आन्दोलन
नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलले प्रहरी हिरासतमा रहेका गुण्डा नाईके भनिएका राधाकृष्ण भण्डारी ९राधे० लाई रिहाइ गर्न माग गरेको छ।
तरुण दलका अध्यक्ष जितजंग बस्नेतले शनिबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी घटनामा संलग्न नरहेका आफ्नो संगठन तरुण दल धादिङ उपाध्यक्ष भण्डारीलाई प्रहरीले नक्कली कागज बनाएर पक्राउ गरेको आरोप लगाएका छन्।
जेठ २२ गते धादिङ रोलाङ गाउँपालिकामा गाउँलेबीच विवाद भएको घटनामा संलग्न नरहेका भण्डारीलाई प्रहरीले विना कारण नियन्त्रणमा लिएको उनले बताए। गाउँलेको झगडा छुट्याउन गएका स्थानीय जनक मगरले घटनामा भण्डारीको संलग्नता नरहेको बताए पनि प्रहरीले कीर्ते कागज बनाएको बस्नेतको आरोप छ।
फरक राजनीतिक विचार भएकै आधारमा सरकारले भण्डारीलाई फसाउन खोजेको तरुण दलको आरोप छ।
घटनामा संलग्न नरहेका भण्डारीलाई पक्रने धादिङ प्रहरीलाई पनि तरुण दलले कारबाहीको माग गरेको छ। भण्डारीलाई रिहाइ नगरे देशब्यापी आन्दोलन गर्ने तरुण दलले चेतावनी दिएको छ।