क्रिकेट रंगशालाका लागि एक लाख सहयोग
चितवन, १७ जेठ । भरतपुर महानगरपालिका वडा नम्बर १६ मा निर्माणाधीन गौतमबुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि सहयोग जुट्ने क्रम जारी छ ।
रंगशालाको पश्चिमतर्फको बार भत्काएको विषय चर्चामा नै रहेको बेला सो रंगशालाका लागि चितवनको भरतपुर गार्डेन रिर्सोटका कर्मचारीको तर्फबाट एक लाख एक रुपैयाँ सहयोग प्रदान गरिएको छ । आज बिहान होटलमा नै आयोजना गरिएको कार्यक्रममा धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेललाई होटलका अप्रेसन म्यानेजर दीपेन्द्र पोखरेलले एक लाख एक रुपैयाँको चेक हस्तान्तरण गरेका छन् । होटलेका म्यानेजर दीपेन्द्र पोखरेलले होटलका कर्मचारीहरुको दुई दिनको तलबबाट रंगशाला निर्माणमा सहयोग गरिएको बताए ।
सकारात्मक सन्देश प्रवाहका लागि सानो भए पनि सहयोग गरिएको भन्दै म्यानेजर पोखरेलले रंगशाला निर्माणका लागि समाजका सबै तह र तप्काका व्यक्तिहरुको साथ रहनुपर्ने बताए । होटलका प्रबन्ध निर्देशक दीलिप मैनालीले होटलका तर्फबाट धुर्मस सुन्तली फाउण्डेसनका अध्यक्ष र पदाधिकारीहरु चितवन आउँदा निशुल्क रुपमा बास बस्ने व्यवस्था मिलाइएको जानकारी दिए ।
रकम हस्तान्तरण कार्यक्रममा फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले रंगशाला बन्ने स्थानमा भएको घटनाले आम नेपालीलाई दुःखी बनाएको भन्दै अबका दिनमा निर्भिकतापूर्वक काम गर्ने वातावरण तयार गरिदिन आग्रह गरेका छन् । रंगशाला निर्माण जनस्तरबाट हुने भएकोले स्थानीय जनतासँग कुनै प्रकारको असमझदारी गर्ने पक्षमा आफूहरु नरहेको र बाटोको विषयमा महानगरपालिका र विश्वविद्यालयले समस्या समाधान गरिदिनुपर्ने अध्यक्ष कट्टेलले बताए । रंगशाला निर्माणमा काम गर्ने वातावरण तयार हुनासाथ फिल्डको काम अघि बढाउन आफूहरु तयार रहेको कट्टेलले बताए ।
सो कार्यक्रममा चितवनका निर्माण व्यवसायी रेगन पन्तले रंगशाला निर्माणका लागि व्यक्तिगत रुपमा दुई लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । उनले देशकै गौरवका रुपमा रहेको रंगशालाको निर्माणमा चितवनवासीको साथ रहेको भन्दै सानातिना घटनाबाट विचलित नहुन धुर्मस सुन्तली फाण्डेशनलाई आग्रह गरे ।
रंगशाला निर्माणका लागि चितवनबाट नै हालसम्म १५ लाख रुपैयाँ नगद मात्रै प्राप्त भएको छ । चितवनबाट एक करोड ८५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाइएको भएपनि प्रतिबद्धता रकम प्राप्न नभएको फाउण्डेसनले जनाएको छ ।