सुटुक्क साटियो महँगो मेसिन
पत्रपत्रिकाबाट
वीरगन्ज /नारायणी अस्पतालको प्रयोगशालामा रहेको किलिया मेसिन गुपचुप साटिएको खुलासा भएको छ । करिब २ वर्षअगाडि अस्पतालले झन्डै २२ लाख रुपैयाँ मूल्यको मेगलुमी ८०० मोडलको किलिया मेसिन खरिद गरेको थियो ।
नारायणी अस्पतालमा २२ लाख पर्ने मेसिन साटेर ४ लाख ५० हजार रुपैयाँको जडान ।थाइराइड, क्यान्सर, बाँझोपनलगायत विभिन्न हार्मोन परीक्षण गर्ने किलिया मेसिन करिब २५ दिन अगाडि साटिएको प्रयोगशालाका कर्मचारीले दाबी गरेका छन् । महँगो मेसिन साटेर करिब ४ लाख ५० हजार रुपैयाँ पर्ने चीनमा बनेको जिसेन सीआईए ६०० किलिया एनालाइजर प्रयोगशालामा राखिएको छ ।
अस्पताल स्रोतका अनुसार पुरानो किलिया मेसिन सप्लायर्सले काठमाडौंको एक ल्याबमा बिक्री गरिसकेका छन् । सप्लायर्स, ल्याब इन्चार्ज र मेडिकल सुपरिटेन्डेन्टले मिलेमतोमा मेसिन साटेर बिक्री गरिएको सम्बद्ध स्रोतको दाबी छ ।वीरगन्जको बिर्तास्थित सिटी सर्जिकलले पुरानो र नयाँ किलिया मेसिन सप्लाई गरेको हो । सप्लायर्स र प्रयोगशालाका कर्मचारीले किलिया मेसिन साटिएको स्विकारेका छन् । तर,नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. एनामुल हकले बिग्रिएको किलिया मेसिन मर्मत गरी पुनः सञ्चालनमा ल्याएको दाबी गरेका छन् । ‘अहिले प्रयोगशालामा रहेको किलिया मेसिन पुरानै हो, साटिएको छैन,’ मेसु डा. हकले भने, ‘त्यही मेसिन बनाएर चलाइरहेका छौं ।’ मेसिन सप्लाई गर्ने सप्लायर्सले नै मर्मत गरेको उनले बताए ।
अस्पतालमा दुई वर्ष अगाडि किलिया मेसिन सप्लाई गरेका सिटी सर्जिकलका सञ्चालक दीपक अग्रवालले पुरानो मेसिन बिग्रिएपछि नयाँ हालिएको बताएका छन् । कान्तिपुरसँग फोनमा उनले भने, ‘मेसिन बिग्रेपछि रिप्लेस गरेका हौं, नयाँ मेसिन पनि राम्रो छ ।’ अग्रवालले नयाँ मेसिन पनि पुरानै कम्पनीको रहेको दाबी गरे ।अस्पतालमा कार्यरत कर्मचारीले सीसीटीभीको भिडियो अध्ययन गरे मेसिन साटिएको प्रमाण देखिने बताउँछन् । गत पुस अन्तिम साता पुरानो किलिया मेसिन बिग्रिएको थियो । मेसिन बिग्रिँदा दुई महिनासम्म सेवा ठप्प थियो । कर्मचारीका अनुसार सातौँ तहको ल्याब टेक्नोलोजिस्टले चलाउनुपर्ने किलिया मेसिन पाँचौँ तहको ल्याब टेक्निसियनले चलाएपछि बिग्रिएको हो ।नेपाल सरकारको सातौँ तहका कर्मचारी हिराबाबु पाण्डे अस्पतालको प्रयोगशालामा विगत साढे चार वर्षदेखि कार्यरत रहे पनि करिब ९ महिना अगाडि ल्याब टेक्निसियन पदमा नियुक्त भएका पाँचौँ तहका सचिन्द्र यादव प्रयोगशाला प्रमुख बनाइएका छन् ।
उक्त पदमा दरबन्दी नहुँदा पनि निमित्त मेसु डा. हकले दैनिक ज्यालादारीमा बिनाप्रतिस्पर्धा यादवलाई नियुक्त गरी प्रयोगशालाको प्रमुख बनाएका हुन् । प्रयोगशालाका एक प्राविधिकले भने, ‘तजबिजमा पाएको पदले मेसिन चलाउने ज्ञान दिँदैन ।’अस्पतालका मेसु डा. हकले किलिया मेसिन विज्ञले नै चलाउँदै आएको दाबी गरेका छन् । पाँचौँ तहका कर्मचारीले थाइराइड परीक्षण गरेको प्रमाण सुरक्षित रहेको बताएपछि मेसुले यसबारे छानबिन गर्ने आश्वासन दिए । सस्तो किलिया मेसिन प्रयोग गर्दा रोगको परीक्षणमा विश्वसनीयता नहुने प्रयोगशालाका टेक्नेसियनहरूले गुनासो गरेका छन् ।
‘नयाँ किलिया मेसिनमा परीक्षण गर्दा बढी केमिकल्स प्रयोग भइरहेको छ,’ एक ल्याब टेक्निसियनले भने, ‘पहिलेको मेसिनमा एउटा थाइराइड टेस्ट गर्दा दुई सय ५० रुपैयाँको केमिकल लाग्थ्यो, अहिलेको मेसिनमा ६ सय रुपैयाँसम्मको केमिकल लागिरहेको छ ।’ सरकारी अस्पतालको प्रयोगशालामा दैनिक २०र२५ वटा थाइराइड परीक्षण हुने गरेको छ ।
सूचना चुहाएको आशंकामा कारबाही
नारायणी अस्पतालभित्रको अनियमितताको सूचना चुहाएको आशंकामा निमित्त मेसु डा. हकले अस्पतालको फार्मेसी विभाग प्रमुख विजय यादवलाई कारबाही गरेको आरोप लागेको छ । १३ गुणा बढी मूल्यमा हाइड्रोजन परअक्साइड खरिद गरेको अनियमितता उजागर भएपछि यादवलाई कारबाही गरिएको हो ।
मिर्गौलाको डायलासिसमा प्रयोग हुने हाइड्रोजन परअक्साइड सप्लायर्सले ६५ रुपैयाँमा सकार गरेको थियो । तर, अस्पतालको स्टोर शाखाले ९ सय ४ रुपैयाँमा हाइड्रोजन परअक्साइड खरिद गरेको प्रमाण उजागर भएको छ । यसैगरी बजार मूल्य ८ सय रुपैयाँ रहेको सोडियम हाइपोक्लोराइड केमिकल्स अस्पतालले १५ सय रुपैयाँमा खरिद गरिरहेको छ । चैत २९ गते यादवको कामकाज सन्तोजनक नरहेको भन्दै करार सेवा थप गर्न नसकिने व्यहोराको पत्र काटिएको छ ।
यादव दुई वर्षदेखि फार्मेसी अधिकृतको पदमा कार्यरत थिए । मेसु डा. हकले हस्ताक्षर गरेको पत्रमा ‘अस्पताल फार्मेसी र अस्पतालप्रति तपाईंले गरेको काम सन्तोषजनक नभएको कारण माग भएबमोजिम म्याद थप गर्न नसकिने ब्यहोरा अनुरोध छ,’ उल्लेख छ । सात दिनभित्र जिम्मामा रहेको सम्पूर्ण नगद तथा जिन्सी सामान अस्पतालको स्टोर शाखालाई बुझबुझारथ गर्न पनि उनलाई भनिएको छ । आजको कान्तिपुरबाट