दिल्ली-काठमाडौं चल्ने बसमा ब्यापक तस्करी हुने गरेको खुलासा

भन्सार छलेर ल्याएको करोड बढीको कुर्तासहित ३ जना पक्राउ


सुर्य बराल /काठमाडौँ / २०७६ बैशाख २/ दिल्ली-काठमाडौं चल्ने बसमा ब्यापक तस्करी हुने गरेको खुलासा भएको छ । आज दिल्ली-काठमाडौं चल्ने बसमाचेकिङ गर्ने क्रममा प्रहरीलाई घुस दिएर भारतबाट भन्सार नतिरी ल्याएको करोड बढीको सामान उम्काउन खोज्ने ३ जनालाई प्रहरीले पक्राउ गरेसँगै यस्तो खुलासा भएको हो ।
तस्करहरुले दिल्ली-काठमाडौं चल्ने बसको छतमा फल्स बटम बनाएर ४३४७ थान महिलाले लगाउने कुर्तासुरुवाल लुकाएर विभिन्न नाका पार गरेर काठमाडौंसम्म ल्याएका थिए ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार बा५ख ४८४२ नम्बरलाई कामनपा(१५, चमतीबाट प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा उनीहरुले अबैध रुपमा ल्याएको लत्ताकपडाहरु बरामद गर्ने क्रममा डिउटीमा खटिएको प्रहरीलाई ३ लाख ५० हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने सुर्खेत घर भएका ३२ वर्षीय दिपा रानामगर र नुवाकोट ककनी गाउँपालिका(२ घर भएका २९ वर्षीय भरत तामाङ रहेका छन् ।
त्यस्तै अनुसन्धानको लागी बसका चालक काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बस्ने सर्लाही घर भएका २६ वर्षीय श्याम विश्वकर्मालाई पनि नियन्त्रणमा लिईएको प्रहरीले जानकारी दिएको छ ।
महानगरीय प्रहरी परिसरले यस विषयमा थप अनुसन्धान भइरहेको बताएको छ ।