चितवनमा नेकपा विप्लव समूहको संगठन छिन्न भिन्न
सात पक्राउ, चार जनाद्धारा राजिनामा, बाँकी भागाभाग
चितवन । सरकारले नेत्रबिक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउदै त्यो पार्टीका नेता तथा कार्यकर्तालाई जहाँ भेट्यो त्यहि समाउने साथै खोजी खोजी पक्रने र भाग्न खोजे गोलीसम्म हान्ने योजना सार्बजनिक गरेसँगै चितवनमा विप्लव समूहको संगठन छिन्न भिन्न भएको छ । गत् फागुण २८ गते नेकपा बिप्लब समूहलाई प्रतिबन्ध लगाई उनीहरुका नेता तथा कार्यकर्ता बिरुद्ध ब्यापक मात्रामा प्रहरी परिचालन गरेसँगै चितवनमा उनीहरुको संगठन तितर बितर हुँदै छिन्न भिन्नको अवस्थामा पुगेको हो ।
हिजो मंगलबारसम्म चितवनमा बिप्लव समूहका नौ जना नेता तथा कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको छ । उनिहरुलाई जिल्लाका विभिन्न क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरिक्षक एवं प्रवक्ता दुर्गा रेग्मीले जानकारी दिए ।
बिप्लव समूहको गतिविधिमा सरकारले प्रतिबन्ध घोषणा गरेयता उनिहरुलाई पक्राउ गरिएको प्रवक्ता रेग्मीले जानकारी दिए । पक्राउ परेकालाई बिरुद्ध मुद्धा दर्ता गरेर म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता रेग्मीले बताए । चार जनालाई दुई हप्ता अघि नियन्त्रणमा लिइएको हो भने दुई जनालाई गत हप्ता नियन्त्रणमा लिइएको उनले बताए ।
नौ जना नेता तथा कार्यकर्ता पक्राउ
पक्राउ पर्नेहरुमा बिप्लव समूहका जिल्ला नेताहरु राजकुमार तिमिल्सिना, गुणराज श्रेष्ठ, विक्रम न्यौपाने, विरबहादुर तामाङ, जयबहादुर कुंवर र मित्र केसी रहेका छन् । तिमिल्सिना जिल्ला सचिवालय सदस्य, न्यौपाने अखिल (क्रान्तिकारी) विरेन्द्र बहुमुखी क्याम्पस इकाई अध्यक्ष, श्रेष्ठ राप्ती नगरपालिका जनसरकार प्रमुख, केसी विप्लव निकट यातायात व्यवसायी संघ चितवन अध्यक्ष र कुंवर चितवन क्षेत्र नम्वर १ इलाका इन्चार्ज हुन् । उनीहरुबिरुद्ध संगठित अपराध, बम बिस्फोट र आगजनी जस्ता गम्भीर प्रकृतिका मुद्धा चलाइएको प्रहरी नायब उपरिक्षक एवं प्रवक्ता रेग्मीले जानकारी दिए ।
विप्लव समूहका नेता कार्यकर्ता खोजी गरी पक्राउ गर्न जिल्लाका सबै क्षेत्रमा ब्यापक मात्रमा प्रहरी परिचालन गरिएको चितवन प्रहरी प्रमुख सुसिल सिंह राठोरले बताए ।
चार कार्यकर्ताद्धारा राजिनामा
यसैविच, विप्लव समूहका जिल्ला स्तरका नेता,कार्यकर्ता धमाधम पक्राउ पर्न थालेपछि चितवनमा चार जनाले गत चैत्र १२ गते मंगलबार नै एक बिज्ञप्ती जारी गरेर राजीनामा दिएका छन् । भरतपुर महानगरपालिका १० का इन्चार्ज मधु क्षेत्री, नगर सदस्यहरु रामप्यारी श्रेष्ठ, राजकुमार विक र श्रमनाथ पण्डितले अबबाट सो समूहमा नलाग्ने भन्दै राजिनामा दिएका हुन् ।
भागाभागको स्थितीमा कार्यकर्ता, संगठन नै छिन्न भिन्न
सरकारले प्रतिबन्ध लगाई जिल्लाका शहरी, गाँउ र पहाडी क्षेत्रमा एकैसाथ अपरेशन चलाएसँगै बिप्लव समूहका अधिकांश कार्यकर्तामा भागाभागको स्थिती उत्पन्न भएको छ । जिल्लामा रहि बिप्लब समूहमा यसअघि काम गर्ने दर्जनौं नेता कार्यकर्ता प्रतिबन्ध लगाएपछी भुमिगत भएका थिए । केही नेता कार्यकर्ता समूहको योजनामै लुक्दै भाग्दै क्रियाशिल रहेपनि अधिकांश कार्यकर्ताहरु पक्रिने डरले जिल्ला छाडेको बुझिन आएको छ । केही कार्यकर्ता राजधानी काठमाण्डौं, पोखरा, बुटवललगाएतका शहरमा आफन्तकोमा शरण लिई बसेको बुझ्नमा आएको छ ।
अन्य केही भने भारतीय शहर दिल्ली, पञ्जाब, कलकत्ता र मुम्बईसम्म पुगेको पाईएको छ । उनीहरुले घरका सदस्य र आफन्तलाई स्थिती साम्य नभएसम्म आफुहरु स्वदेश फर्कन नसक्ने जानकारी गराएको एक कार्यकर्ताका आफन्तले भण्डाफोर अभियानलाई जानकारी गराएका छन् ।
यता दर्जनको सख्यामा रहेका जिल्लास्तरका केही नेता कार्यकर्ता भने पार्टीले माथीबाट योजना पनि नदिएको र आफुले केही गर्दा भोली पार्टीले जिम्मा नलिने डरले गर्दा लुक्दै छिप्दै पार्टीको निर्देशन कुरेर बसेको अवस्था रहेको श्रोतले जनाएको छ ।
यसरी, बिप्लब समूहलाई प्रतिबन्ध लगाई ब्यापक मात्रमा सादा पोशाकका प्रहरीलाई उनीहरुको हुलिया, फेसबुक आईडी, मोबाईल नम्बरहरु लगाएत उनीहरुको सम्भावित मुभमेण्टलाई नियाली रहेको चितवन प्रहरीको सक्रियताले गर्दा चितवनमा विप्लव समूहको कार्यकर्ताहरुको भागाभाग मात्र भएको छैन् पुरै संगठन नै छिन्न भिन्न हुने अवस्था पैदा भएको छ ।
गतिबिधी सुस्ताउदै
गत् फागुन २८ गते भरतपुर महानगरपालिका कैलासनगर स्थित ५ नं वडा कार्यालयमा एक शक्तिशाली बम बिस्फोट भएको र सो बिस्फोट बिप्लब समूहले गराएको सुचनाको आधारमा प्रहरीको मुख्य तारो बनेपछी चितवनका आदादर्जन मुख्य नेताहरु अहिले पूर्ण रुपमा भुमिगत भएका छन् । उनीहरु जिल्लै छाडेर गएको र अरु केही कार्यक्रम र योजना नदेखिएकाले बिप्लब समूहको गतिबिधी सुस्ताउदै गएको देखिन्छ । फागुणको अन्तिम हप्तासम्म पनि ब्यापक चन्दा उठाईरहेको गुनासो प्रहरीमा आउने गरेपनि अहिले उनीहरुको गतिबिधी नदेखिएको चितवन प्रहरी श्रोतले जानकारी दिएको छ ।
धडपकडप्रति कडा आपत्ति यसैबिच, नेपाल कम्युनिस्ट पार्टी बिप्लब समूह चितवनले आफ्ना नेता तथा कार्यकतालाई संकटकालको झझल्को दिने गरी गृह प्रसाशनले गिरफ्तार गरेको भन्दै कडा आपत्ती जनाएको छ । आफना आदादर्जन बढी नेता कार्यकर्तालाई झुट्ठा मुद्धामा फसाउन लागेको भन्दै सो पार्टीले बिरोध जनाएको छ । विगतको पञ्चायती व्यावस्था र जनयुद्धमा राज्यले लगाएको संकटकाल झै नेकपाका नेता तथा कार्यकर्तामाथि दमन धरकपड र खानतलासी तिब्र बनाएकोप्रति कडा विरोध गरिएको छ र तुरुन्त झुठ्ठा मुद्धा खारेज गरी निर्दोष सबैलाई रिहाईको माग गरेको छ ।
वडा कार्यालय बिष्फोटमा संलग्नता नरहेको
त्यस्तै, २०७५ साल फागुन २८ गते भरतपुर महानगरपालिका कैलासनगर स्थित ५ नं वडा कार्यालयमा भएको घटनामा आफ्नो कुनैपनि संलग्नता नरहेको भन्दै बिप्लब नेकपाले बिज्ञप्ती जारी गरेका छ । अरु कसैबाट घटाएको घटनासँग जोडेर झुठो मुद्धा लगाई आफ्ना नेता कार्यकर्ता हिरासतमा राखेको नेकपाको विज्ञप्तिमा भनिएको छ ।
भण्डाफोर अभियान साप्ताहिकबाट