प्रतिबन्धित नेकपाको बन्द फिर्ता

काठमाडौँ /प्रतिबन्धित बिद्रोही नेकपाले चैत १६ गते घोषणा गरेको आमहडताल सहितको नेपाल बन्द फिर्ता लिएको घोषणा गरेको छ । माध्यमिक शिक्षा परीक्षा परेको र नेपाल बार एसोसिएशनको निर्वाचन परेकाले बन्द फिर्ता लिएको घोषणा गरेको उक्त पार्टीका महासचिव विप्लवले जनाएका छन् । महासचिव बिप्लवले एक प्रेस विज्ञप्ति निकाल्दै भनेका छन् “केपी—प्रचण्ड सरकारले हाम्रो पार्टीका गतिविधिलाई लिएर प्रतिबन्ध घोषणा गर्नुका साथै स्थायी समितिका सदस्य कमरेड सुदर्शन लगायतका सयौंको संख्यामा नेता(कार्यकर्ता(समर्थक र शुभचिन्तकहरुलाई गिरफ्तार गरी झुठो मुद्दा लगाउने, दिनदिनै गाउँहरुमा अप्रेशन गर्नुका साथै गोलीसम्म हान्ने गरेको छ । यसरी एउटा जिम्मेवार, देश र जनताको पक्षमा सङ्घर्ष गर्दै आएको सच्चा कम्युनिस्ट पार्टीमाथि गरिएको दमनका विरुद्ध प्रतिरोध गर्नु हाम्रा लागि अनिवार्य सर्त बनेको छ । यो सामाजिक फासिवादी सरकारले आफ्नो लुटको स्वर्ग बचाउनका लागि जनतामा त्रास पैदा गर्ने, दमन मचाउने कार्यलाई कुनै क्रान्तिकारी शक्तिले सहन गर्ने कुरै भएन । त्यसैले हाम्रो पार्टीका तर्फबाट यही चैत १६ गतेका दिन आमहडताल सहित नेपाल बन्दको आव्हान गरेका थियो । तर शनिबार नै भएपनि उक्त दिन ४ लाख ७५ हजार ३ जना विद्यार्थीको माध्यमिक शिक्षा परीक्षा परेको र परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले परीक्षामा अवरोध नगरिदिनका लागि अपील गर्नुका साथै, त्यसै दिन नेपालका कानून व्यावसायीहरुको नयाँ नेतृत्व छनौटका लागि निर्वाचन पर्न जानुका साथै नेपाल बार एसोसिएशनले पनि एक वक्तव्य मार्फत सहयोग गर्न गरेको आग्रहलाई ध्यानमा राख्दै एक जिम्मेवार पार्टीको हैसियतले उक्त दिनको आमहडतालका साथै नेपाल बन्दको कार्यक्रम अहिलेका लागि स्थगित गरिएको छ । तर वर्तमान सामाजिक दलाल फासिवादी सत्ताले हाम्रो पार्टी र उसका गतिविधि माथि प्रतिबन्ध लगाउने निहुँमा देशभरी गरिराखेको प्रहरी अप्रेशन, हिंसा र गोलीसम्म हान्ने जुन कुकार्य गरेको छ । त्यसको हामी उचित जवाफ दिने छौँ । साथै उपयुक्त समयमा नयाँ संघर्षको कार्यक्रम पनि घोषणा गरिनेछ । ति कार्यक्रमहरुलाई सबै पक्षबाट सहयोग, समर्थन, ऐक्यबद्धताको अपेक्षा राख्दछौँ ।” बिप्लवको बिज्ञप्तीमा भनिएको छ ।

sahid diwas