आफ्नै पूर्वआयुक्तविरुद्ध अख्तियार अदालतमा

 


काठमाडौं/अनियमितता गर्ने व्यक्ति जतिसुकै अख्तियारप्राप्त ठाउँमा बसे पनि कुनै दिन फन्दामा पर्न सक्छन् । राजनारायण पाठकको घटनाले यसलाई चरितार्थ गरेको छ । केहीअघिसम्मका आफ्नै आयुक्त पाठकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मंगलबार भ्रष्टाचार मुद्दा दायर गरेकोे छ । इन्जिनियरिङ कलेज स्वामित्व विवादमा घुस लिएको सकारेका पाठकसँग ७८ लाख रुपैयाँ बिगो र ११ वर्ष जेल सजाय माग गरिएको छ ।

अख्तियारकै आयुक्तविरुद्ध अख्तियारबाटै भ्रष्टाचार मुद्दा चलेको इतिहासमै नौलो घटना हो । यसले अख्तियारलाई पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्कीका अनियमिततामा पनि अनुसन्धान र कारबाही गर्न बाटो खुला भएको छ ।

तत्कालीन आयुक्त पाठकविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ को ‘ज’ र दफा २४ अनुसार कारबाही गर्न माग गरिएको छ । ऐनमा रिसवत ९घुस० मा संलग्न व्यक्तिलाई बिगोबमोजिम जरिबाना र ६ देखि ८ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । संवैधानिक निकायका पदाधिकारीका हकमा थप तीन वर्ष सजाय हुने व्यवस्था छ । अभियोग प्रमाणित भएमा पाठकलाई ११ वर्ष कैद सजाय हुन सक्छ ।

पाठकसँगै घुस प्रकरणमा मुछिएका नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपानेलाई ६ देखि आठ वर्षसम्म कैद र ७८ लाख जरिबाना माग गरिएको छ । सार्वजनिक पदाधिकारी नभएका कारण न्यौपानेलाई आठ वर्ष जेल सजाय माग गरिएको हो । न्यौपाने फरार रहेकाले अदालतबाटै वारेन्ट पुर्जी जारी गर्न अख्तियारको माग छ । अनुसन्धानका क्रममा आयोगलाई प्राप्त श्रव्यदृश्य सामग्रीबाट पुष्टि भएपछि विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

इन्जिनियरिङ कलेज स्वामित्व विवादमा अख्तियारमा परेको विचाराधीन उजुरीलाई मिलाइदिने भन्दै पाठकले न्यौपानेसँग ७८ लाख रुपैयाँ घुस लिएको तथ्य भिडिओमार्फत बाहिरिएको थियो । राष्ट्रिय जनता पार्टीका नेता ज्ञानेन्द्र झामार्फत न्यौपानेले पाठकलाई २०७५ भदौमा एकपटक ४० र दोस्रोपटक ३८ लाख घुस दिएका थिए । झा भने न्यौपाने र पाठकको मध्यस्थकर्ता बनेका थिए ।

घुस लिएर काम नगरिदिएपछि झाले पाठकको कर्तुत बाहिर ल्याउन नेकपाका कार्यकर्ता ध्वजमान मोक्तानको सहयोग लिएका थिए । त्यसपछि मोक्तानले पाठक घुस प्रकरणको ‘स्टिङ अपरेसन’ गरेका थिए । पाठकको घुस प्रकरणको भिडियो बनाएर उनले नेकपाका उपनेता सुवासचन्द्र नेम्वाङलाई बुझाएका थिए । नेता नेम्वाङले उक्त भिडियो एक महिनाअघि अख्तियारमा बुझाएका थिए ।

राजपा नेता झालाई सरकारी साक्षीका रूपमा पेस गरिएको छ । कलेजको स्वामित्वका विषयमा अध्यक्ष न्यौपाने समूह र अर्का सञ्चालक दीपक भट्टराई समूहबीच विवाद थियो । दुई समूहको विवाद मिलाइदिने भन्दै तत्कालीन आयुक्त पाठकले न्यौपानेसँग घुस लिएका थिए । अस्ट्रेलियाका पिआरधारी न्यौपाने स्थलमार्गबाट भारत हँुदै भागेका हुन् ।

सरकारले महाअभियोग लगाउने तयारी भएपछि पाठकले फागुन ३ मा राजीनामा दिएका थिए । संवैधानिक निकायका पदाधिकारीमाथि अनुसन्धान गर्ने विषयमा अख्तियार केही समय अन्योलमा थियो । महान्यायाधिवक्ता कार्यालयले अनुसन्धान गर्न राय दिएपछि फागुन ८ गते सहसचिवस्तरीय ३ सदस्यीय टोली बनाएर अख्तियारले पाठक घुस प्रकरणमा अनुसन्धान थालेको थियो । विस्तृत अनुसन्धानपछि मंगलबार अख्तियारका प्रमुख नवीनकुमार घिमिरेको उपस्थितिमा भएको विशेष बैठकले पाठक र न्यौपानेविरुद्ध मुद्दा दायर गर्ने निर्णय गरेको हो । अख्तियारले प्रमाणका रूपमा अदालतमा भिडियो र अडियो रेकर्ड बुझाएको छ ।

यसअघि पनि पाठक विभिन्न प्रकरणमा मुछिँदै आएका थिए । २०५५ सालमा पाटनमा सरकारी वकिल रहँदा उनी भारु नोट प्रकरणमा विवादमा मुछिएका थिए । पाँच सय दरका दुई करोड रुपैयाँभन्दा बढी भारुसहित पक्राउ परेका सुनिल मास्केलाई मुद्दा नचलाउने निर्णय भएपछि विवाद उत्कर्षमा पुगेको थियो । त्यतिबेला भारु पाँच सयलाई राष्ट्र बैंकले बन्देज लगाएको थियो । पाठकले भारुको हैसियत ‘सादा कागज’ बराबर हुने रायसहित मुद्दा नचल्ने निर्णय गरेपछि विवाद बढेको थियो ।

उक्त प्रकरणमा अख्तियारले छानबिन थालेपछि त्यसविरुद्ध सर्वोच्चमा रिटसमेत दायर भयो । सर्वोच्चले उक्त प्रकरणमा अख्तियारले छानबिन गर्न पाउने निर्णय दिएको थियो । यो विवाद पाठककै कारण उब्जिएको थियो । अख्तियारका पूर्व प्रमुख आयुक्त लोकमानसिंह कार्की तत्कालीन भन्सार प्रमुख हुँदा त्रिभुवन विमानास्थल भन्सारबाट आएको अवैध सुन प्रकरणमा छानीछानी मुद्दा चल्ने वा नचल्ने निर्णय लिएको विषयमा पनि पाठक विवादमा मुछिएका थिए । उक्त प्रकरणमा कार्कीलाई छुटाउन पाठक सक्रिय रहेको आरोप छ । पाठक मधेसी कोटाबाट कांग्रेस समर्थनमा आयुक्त बनेका थिए ।

पाठकका भाइमाथि अनुसन्धान

घुस प्रकरणमा जोडिएका राजनारायण पाठकका भाइ एवं पूर्वाञ्चल विश्वविद्यालय इन्जिनियरिङ विभागका डिन शुभनारायण पाठकका विषयमा अख्तियारले अनुसन्धान गर्ने भएको छ । शुभनारायणले राष्ट्रिय जनता दलका नेता ज्ञानेन्द्र झासँग इन्जिनियरिङ कलेजलाई सम्बन्ध दिने भन्दै १५ लाख घुस लिएका थिए । छोरीको बिहेको निहुँमा पाँच वर्षअघि लिएको उक्त रकम उनले फिर्ता गरेका छैनन् । आयोगको मंगलबारको बैठकले कलेज सम्बन्धनका लागि घुस लिएको विषयमा थप अनुसन्धान गर्ने निर्णय गरेको अख्तियार सहप्रवक्ता कोइरालाले जानकारी दिए ।

अख्तियारले पाठकको एजेन्ट त्रिभुवन विमानस्थल अध्यागमन विभाग र नापी विभागका काम गर्ने एकएक कर्मचारीका विषयमा अनुसन्धान गरिरहेको छ । पाठकको स्टिङ अप्रेसन गर्ने नेकपाका कार्यकर्ता मोक्तान, नेपाल प्रहरीका एसएसपी धीरप्रताप सिंह, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव मोहनकृष्ण सापकोटा, इन्जिनियरिङ कलेजका सञ्चालक दीपक भट्टराई, उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन, अखिलका नेता कैलाश मगर, कांग्रेस नेता सूर्यबहादुर केसीका सम्बन्धमा अख्तियारको आरोपपत्रमा केही उल्लेख छैन । अन्नपूर्णबाट