विप्लव नेकपाद्वारा चैत्र १६ गते नेपाल बन्दको घोषणा

 थप संघर्षका कार्यक्रम पनि सार्वजनिक


काठमाडौं, १२ चैत । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले यहि चैत १६ गते शनिबार नेपाल बन्दको घोषणा गरेको छ ।

बर्तमान ओली सरकारले देशब्यापी धरपकड र दमन बढाएको भन्दै सो पार्टीले बन्दको घोषणा गरेको हो । पार्टी स्थायी समितिका सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहित देशभरिबाट आफ्ना नेता र कार्यकर्ता पक्राउ परेको विरोधमा १६ गते शनिबार नेपाल बन्दको घोषणा गरेको महासचिव विप्लवद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

गत फागुन २८ गते सरकारले प्रतिबन्ध लगाएपछि विप्लव नेकपाका नेता कार्यकर्ता देशभरबाट पक्राउ पर्ने क्रम बढेको छ ।

सो पार्टीका महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा आफ्नो पार्टीमाथि प्रतिबन्ध घोषणा गर्दै वर्तमान सरकारले चरम फासिवाद लादेको आरोप लगाइएको छ ।

विज्ञप्तिमा सरकारले प्रतिबन्ध र दमनलाई हटाउनुको सट्टा चर्काएर देशलाई गृहयुद्ध र द्वन्द्वतिर धकेल्न खोजेको टिप्पणी गरिएको छ ।

पार्टीका स्थायी समिति सदस्य एवम् मध्यकमान्ड इन्चार्ज सुदर्शन, पोलिटब्युरो सदस्य जीवन्त, केन्द्रीय सदस्यहरू प्रज्वलन, बन्धुलगायत दर्जनौं नेता–कार्यकर्तालाई गिरफ्तार गरेको विरोधमा उनीहरुको रिहाईका लागि स्थायी समितिको निर्णयअनुसार चैत १६ गते शनिबार देशव्यापी आमहड्तालसहित नेपाल बन्दको आह्वान गरिएको छ ।
विप्लवले सोही विज्ञप्तिमार्फत चैत २४ गतेसम्मको संघर्षका कार्यक्रम पनि घोषणा गरेका छन् । सो कार्यक्रमअनुसार चैत १३ गते देशभर चोक जुलुस, चैत १४ गते देशभर कोणसभा, चैत १५ गते मशाल जुलुस, चैत १६ गते नेपाल बन्द, चैत १९ देशभर अन्तरक्रिया, चैत २१ जनवर्गीय संगठनको विरोध प्रदर्शन, चैत २२ र २३ गते कालो झन्डा प्रदर्शन, चैत २४ देशव्यापी जनप्रदर्शन र जनसभा रहेको छ ।

बिज्ञप्ती हेरौं