गएराति काभ्रेमा समातिएका नेकपा(विप्लव)का प्रभावशाली नेता सुदर्शनलाई काठमाडौं ल्याइदै
काठमाडौं, ९ फागुन । गएराति काभ्रेको खानिखोलाबाट गिरफ्तार परेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली सुदर्शनलाई काभ्रेबाट काठमाडौं ल्याउने तयारी भएको बुझिएको छ ।
प्रहरी स्रोतका अनुसार नेता सुदर्शनसहित उनीसँग गिरफ्तार भएका अरु ८ जनालाई पनि काठमाडौं ल्याउने तयारी भएको हो । नेता सुदर्शनलाई गएराति काभ्रेको खानीखोला गाँउपालिका–७ मा पर्ने मिल्चेबाट प्रहरीले पक्राउ गरेको थियो । काठमाडौंबाट गएको प्रहरीको विशेष टोलीले उनीहरुलाई घेरा हालेर गिरफ्तार गरेको र अहिले काभ्रेबाट काठमाडौ ल्याउन लागेको हो ।
वैचारिक अध्ययन र लेखनमा राम्रो दख्खल राख्ने नेता सुदर्शन पार्टीमा चौथो नम्बरका नेता तथा मध्य केन्द्रीय कमाण्ड इन्चार्ज हुन । नेपाल प्रहरीको महानगरीय प्रहरी अपराध महाशाखाका निमित्त प्रमुख एसपी केदार ढाकालले भने हेमन्तप्रकाश ओली सुदर्शनसहित ९ जना गिरफ्तार परेको जानकारी दिए ।
सुदर्शनसँगै शंकर अधिकारी, धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, विजय श्रेष्ठ, ललित लामा, सन्जीव कार्की, वेद घिमिरे र लोकेन्द्र खड्कालाई पनि गरिफ्तार गरिएको एसपी ढकालले जानकारी दिए ।
गत फागुन २८ गते विप्लव नेतृत्वको पार्टी नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएपछि देशभर उक्त पार्टीका नेता कार्यकर्ता गिरफ्तार परिरहेका छन् । यसअघि सो पार्टीका पोलिटब्यूरो सदस्य मोहन कार्की जीवन्तसहित ४ दर्जन बढी नेता कार्यकर्ता गिरफ्तार भइसकेका छन् । नेता सुदर्शनलाई केही दिन अघि मात्र काभ्रेकै रोशी गाउँपालिका अन्तर्गत काफलडाँडाबाट पक्राउ गरिएको समाचार बाहिर आएको थिए ।
प्रहरीले नै केही सञ्चारकर्मीलाई खबर गरेर सुदर्शनलाई पक्राउ गर्नेबारे जानकारी दिएको बुझिएको छ । उक्त प्रचार आएको चार दिनपछि काभ्रेबाटै उनी पक्राउ परेका हुन । सुदर्शन काभ्रेमा रहेको सूचनापछि प्रहरीले निरन्तर काभ्रेका सबै क्षेत्रमा सर्च अभियान चलाएको बताइएको छ । नेता ओलीको गिरफ्तारीबारे उनको पार्टीले भने केही जानकारी दिएको छैन ।